Skip to main content
Advertisementxtreme adv

धावक हरिबहादुर रोकायालाई कर्णाली याक्सद्वारा २ लाख ५० हजारको सम्मान

१९ असोज, सुर्खेत । जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया सम्मानित भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले सोमबार सुर्खेतमा रोकायालाई दुई लाख ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको हातबाट उनले सम्मान पाएका छन् । खेलमार्फत कर्णालीसँगै देशको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन योगदान गरेको भन्दै कर्णाली याक्सले रोकायालाई सम्मान गरेको जनाएको छ । कर्णाली याक्सका प्रमुख गृहेन्द्र घिमिरेले खेलमार्फत कर्णालीसँगै समग्र देशको शीर उँचो बनाउन रोकायाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै सम्मान गरिएको बताए । ‘उहाँबाट प्रेरणा लिएर नयाँ पुस्ताका खेलाडीहरू अगाडि बढ्न जरुरी छ’ घिमिरेले भने ।

रोकाया लामो समयदेखि नेपालको एथ्लेटिक्स क्षेत्रमा सक्रिय छन् । जुम्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका रोकाया पूर्व ओलम्पियनसमेत हुन् । एभरेस्ट म्याराथनमा विश्व कीर्तिमान कायम गरेका उनले पछिल्लो समय जुम्लामा नयाँ पुस्ताका धावक उत्पादनमा समेत योगदान दिँदै आएका छन् । सम्मान कार्यक्रममा रोकायाले जुम्लाको तालकोटमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर सञ्चालन गर्ने आफ्नो सपना रहेको बताए । अहिले आफ्नै जमिनमा प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेको भए पनि त्यो पर्याप्त नभएको उनले बताए । ‘अहिले आफ्नै जमिनमा सेन्टर चलाइरहेको छु, त्यो पर्याप्त छैन,’ उनले भने, ‘हिमालको काखमा रहेको तालकोटमा ट्रेनिङ सेन्टर खोल्ने सपना छ । त्यसलाई पूरा गरिदिन सबैले सहयोग गरिदिनुहोला।’

रोकायाले हिमाली क्षेत्रमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर स्थापना गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीलाई प्रशिक्षण दिन सकिने बताए । कर्णालीको भौगोलिक अवस्था खेलाडीको उच्च उचाइमा प्रशिक्षणका लागि उपयुक्त रहेकाले त्यसको सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा मुख्यमन्त्री शाहीले धावक रोकायाले कर्णालीसँगै देशलाई चिनाउन खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । खेलकुदको माध्यमबाट कर्णालीको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन रोकायाको योगदान उल्लेखनीय रहेको उनले बताए । मुख्यमन्त्री शाहीले आफूले समेत रोकायाले अध्ययन गरेको विद्यालयमा पढ्ने अवसर पाएको स्मरण गर्दै त्यसप्रति गौरवको अनुभूति भएको उल्लेख गरे । रोकायाले प्रशिक्षण दिएका तथा उनको प्रेरणाबाट कर्णालीबाट पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धावक उत्पादन हुँदै आएका छन् । कर्णालीमा खेलकुदको पूर्वाधार र प्रशिक्षणको अवसर विस्तार गर्न सके अझ धेरै प्रतिभा उत्पादन गर्न सकिने खेलाडी तथा प्रशिक्षकहरूले बताउँदै आएका छन्।