दशैँमा करिब १५ लाख मानिस काठमाडौंबाट बाहिरिने अनुमान, बाढीले बिग्रिएका सडकहरूको अवस्था

यस वर्ष वर्षात्का कारण विभिन्न राजमार्ग र महत्त्वपूर्ण सडकहरूमा क्षति पुगेपछि पूर्वाधार विकास मन्त्रालयले दशैँको समयमा मानिसहरूको आवतजावतमा बाधा नपरोस् भनी कार्ययोजना बनाएर मर्मतसम्भारको काम गरिरहेको जनाएको छ। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले यस वर्ष दशैँमा करिब १५ लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरेको जनाएको छ। त्यसका लागि सडक मर्मत, सुरक्षा व्यवस्थापन, यातायातको बुकिङ र अनुगमन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको उक्त समितिका सभापतिले बताएका छन्।
‘पब्लिक ट्रान्सपोर्ट ट्राभल म्यानेज्मेन्ट २०८३’ नामको प्रतिवेदनमा दशैँ, तिहार र छठजस्ता चाडपर्वमा सवारीसाधनको चाप बढ्ने, टिकटमा अनियमितता हुनसक्ने र सडक सुरक्षा जोखिम रहेकाले यी समस्या समाधान गर्न सुझावहरू पनि प्रस्तुत गरिएको छ। यस वर्ष देशका विभिन्न क्षेत्रहरूमा आएको बाढी र पहिरोका कारण सडकहरू धेरै ठाउँमा अवरुद्ध भएका कारण ती सडकहरू सञ्चालनमा ल्याउने चुनौती रहेको अधिकारीहरूले बताएका छन्। यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङका लागि मिति तय गर्न मंगलवार यातायात व्यवसायीसँग छलफल गरी निर्णय गरिने जनाएको छ।
अवरुद्ध सडक खुलाउन भइरहेको कामपूर्वाधार विकास मन्त्रालयका प्रवक्ता उमेशबिन्दु श्रेष्ठले दशैँमा सबै सम्भावित सडकहरू खुलाउने उद्देश्यका साथ काम भइरहेको बताएका छन्। “अवरुद्ध रहेका सडकहरू खुलाउन कार्ययोजना बनाएर अगाडि बढाइरहेछौं। धेरै क्षति पुगेको रसुवागढी क्षेत्रमा पनि तीव्र गतिमा काम भइरहेको छ,” प्रवक्ता श्रेष्ठले बताए। “पृथ्वी राजमार्गको कृष्णभीरस्थित अवरोध पनि अस्थायी रूपमा सञ्चालनमा आइसकेको छ। अब बर्खाले त्यति असर नपुर्याउने विश्वास छ।”
प्रतिनिधिसभा पूर्वाधार विकास समितिको प्रतिवेदन अनुसार काम भइरहेको उनले बताए। उक्त समितिका सभापति तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, यातायात व्यवस्था विभागलगायत निकायहरूसँग निरन्तर छलफलमा रहेको जानकारी दिए। “सडकहरू पूर्ण रूपमा सञ्चालनमा आउनुपर्छ। पहिरो र बाढीका कारण अवरुद्ध ठाउँमा उपकरण राखेर तुरुन्त सुधार गरी सञ्चालन गर्नुपर्ने, असुरक्षित सडकहरू राति बन्द गरी सूचना दिनुपर्ने सुझाव दिएका छौं,” सभापति गजुरेलले बताए।






