
२१ असोज, काठमाडौं । फ्रान्समा विद्यार्थीहरूले थप स्रोतसाधनको माग गर्दै सुरु गरेको आन्दोलन तीव्र बन्दै गएपछि सयौं उच्च माध्यमिक विद्यालयहरू प्रभावित भएका छन्। केही स्थानहरूमा तोडफोड र आगजनीका घटनाहरूसमेत भएका छन्। कर्मचारी, विद्यार्थी र प्रहरीका सदस्यहरू समेत घाइते भएका छन्। प्रहरीले दंगा नियन्त्रणका लागि हतियार प्रयोग गर्दा युवा प्रदर्शनकारीहरू गम्भीर रूपमा घाइते हुन थालेपछि सरकारप्रति आलोचना पनि बढेको छ। यसले राष्ट्रपति इम्यानुएल म्याक्रोनको प्रशासनमाथि ठूलो दबाब सिर्जना गरेको छ। गृह मन्त्री लरेन्ट नुनेजका अनुसार हालसम्म ६ हजार १०० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ भने ७१५ प्रहरी अधिकारीहरू घाइते भएका छन्। गृह मन्त्री नुनेजले प्रहरीको प्रतिक्रिया अधिकांश घटनामा परिस्थितिअनुसार उचित रहेको दावी गरेपछि आक्रोश अझ बढेको जनाइएको छ।
स्रोतसाधनको माग गर्दै सुरु भएको प्रदर्शन फ्रान्सको राष्ट्रिय आदर्श वाक्य ‘स्वतन्त्रता, समानता, भ्रातृत्व’ प्रतिको प्रतिबद्धता हुँदाहुँदै पनि विपन्न विद्यालयका विद्यार्थीहरूले पर्याप्त स्रोत र अवसर नपाएको विषयलाई लिएर भएको थियो। विद्यार्थीहरूले कक्षाकोठामा डेस्क, बेन्च र कुर्सीजस्ता आधारभूत सामग्रीको अभाव, वातानुकूलन नहुँदा गर्मीमा अत्यधिक तात्ने कक्षाकोठा, कर्मचारी अभाव लगायतका गुनासोहरू सम्बोधन गर्न माग गरेका छन्। यस्ता विभिन्न मागसहित सेप्टेम्बर मध्यतिर पेरिस क्षेत्रमा शुरु भएको प्रदर्शन अन्य सहर र नगरहरूमा पनि फैलिँदै गएको छ। उच्च माध्यमिक विद्यालयसँग सम्बन्धित आन्दोलनको समर्थनमा मजदुर युनियनले पनि र्याली आयोजना गरेको छ। मंगलबार पेरिसमा आयोजित प्रदर्शनमा सहभागीहरूले ‘तपाईं भन्नुहुन्छ, युवाहरू नै भविष्य हुन्, त्यसैले उनीहरूको कुरा सुन्नुहोस्,’ लेखिएका प्लेकार्डहरू बोकेको देखियो।





