Skip to main content

एल निन्योको प्रभावबीच मनसुनमा औसत वर्षा, हिउँद सिजनमा के हुन्छ अनुमान?

प्रशान्त महासागरमा विकास भइरहेको एल निन्यो प्रणालीका कारण यस वर्ष मनसुनमा सामान्यभन्दा कम वर्षा हुने अपेक्षा गरिएको थियो, तर प्रारम्भिक विश्लेषण अनुसार नेपालमा झण्डै औसत वर्षा भएको जल तथा मौसम विज्ञान विभागका पछिल्ला तथ्याङ्कले देखाएका छन्। मनसुन सुरु हुनुअघि नै एल निन्योको प्रभावले तापक्रम बढ्ने र वर्षा घट्ने अनुमान सार्वजनिक गरिएको थियो। जुन १९ देखि सेप्टेम्बर ३० सम्म नेपालभरि करिब १,३२६ मिलिमिटर वर्षा भएको छ। सामान्यतया मनसुनमा नेपालमा औसत १,५०० मिलिमिटर पानी पर्छ। मनसुन अवधिमा ९० देखि ११० प्रतिशत वर्षालाई औसत वर्षा मानिन्छ। प्रारम्भिक अध्ययन अनुसार अक्टोबरको पहिलो सातासम्म लगभग ९५ प्रतिशत वर्षा भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् अशोक बखरेलले जानकारी दिए। यस वर्ष मनसुन करिब छ दिन ढिलो भई जून १९ मा सुरु भयो। विभागका अनुसार नेपालको मध्य र पूर्वी भागमा मनसुन अझै बाहिरिन बाँकी छ।

कहाँ कम र कहाँ बढी वर्षा भयो? मौसमविद् रोजन लामिछानेका अनुसार मधेस प्रदेशमा यस वर्ष सामान्यभन्दा कम वर्षा भएतापनि केही स्थानमा सामान्यभन्दा बढी वर्षा देखिएको छ। “प्रारम्भिक विवरणहरूले मधेस प्रदेशमा कम वर्षा देखाउँछ भने गण्डकी प्रदेश र [बागमती प्रदेशका] काठमाडौँ, सिन्धुपाल्चोक वरिपरि केही बढी वर्षा भएको देखिन्छ। पूर्ण विवरण अहिलेसम्म उपलब्ध छैन,” लामिछानेले बताए। सेप्टेम्बर अन्तिमसम्मको विभागको तथ्यांक अनुसार धनगढी, वीरेन्द्रनगर, लुम्ले, नेपालगञ्ज विमानस्थल, जनकपुर, विराटनगर, धनकुटा र धरानका वर्षा मापन केन्द्रमा औसतभन्दा कम वर्षा देखिएको छ। जुम्ला, जोमसोम, काठमाडौंबिमानस्थल लगायतका मापन केन्द्रहरूमा भने औसतभन्दा बढी वर्षा भएको विभागको मनसुनी वर्षा निगरानी तथ्यांकमा जनाइएको छ। असोज १७ देखि सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागसहित गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन थालेको विभागले जनाएको छ। बाँकी क्षेत्रहरूबाट मनसुन बाहिरिन बाँकी छ। यसैबीच, पुनः पश्चिमी वायु र स्थानीय प्रणालीहरूले नेपालका धेरै स्थानमा वर्षा गराइरहेका छन्। “पानी परेर भेल आउन सक्छ, तर मनसुन कमजोर भइसकेको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव केही दिन देखिन्छ, त्यसपछि अर्को प्रणाली तुरुन्त देखिँदैन,” जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल भन्छिन्। “अझै केही दिन मध्यम वर्षा हुने र त्यसपछि घाम लाग्ने सम्भावना छ।”

यस वर्ष दशैँको मौसम कस्तो हुनेछ भन्ने धेरैको चासो छ तर त्यसको पूर्वानुमानका लागि अहिलेसम्म पर्याप्त तथ्याङ्क उपलब्ध छैन, विभागका अधिकारीहरूले बताएका छन्। यस मनसुनमा किन औसत वर्षा भयो? यस वर्ष मनसुनमा सामान्यभन्दा कम वर्षा हुने अनुमान भए पनि एल निन्योको प्रभाव नेपालमा त्यति ठूलो देखिन नसकेको कारण औसत वर्षा भएको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले बताउँछन्। “कम हुने अनुमान भए पनि त्यो वास्तविकतामा देखिएन,” सिग्देल भन्छन्। “हामीले एल निन्योको प्रभाव पूर्ण रूपमा भोग्न पाएका छैनौं।” उनका अनुसार जुलाई महिनामा गरिएको पूर्वानुमानमा अगस्टदेखि सेप्टेम्बरसम्म एल निन्योको प्रभाव रहने देखिएको थियो तर यसको अपेक्षितभन्दा ढिलो दक्षिण एसियामा आएकोले अगस्ट महिनामा देखिने प्रभाव कमजोर रह्यो। “नोभेम्बर महिनामा यसको प्रभाव उत्कर्षमा पुग्नेछ, त्यसैले मनसुनमा त्यसको प्रभाव कम देखियो,” उनले बताए। नेपालका पहाडी क्षेत्रहरूमा विकास हुने स्थानीय मौसमी प्रणालीहरूले पनि मनसुनमा अपेक्षाभन्दा बढी वर्षा हुन योगदान पुर्‍याएको उनले बताए। भारतमा पनि एल निन्योका कारण वर्षा कम हुने अनुमान भए पनि केही क्षेत्रहरूमा बढी वर्षा भएको देखिएको छ।

विश्व मौसम संगठनले जुन महिनामा एल निन्यो विकास हुन थालेको घोषणा गरेको थियो तर सेप्टेम्बरसम्म पूर्ण रूपमा सक्रिय भएको बताएको थियो। प्रशान्त महासागरको मध्य क्षेत्रमा पानीको तापक्रम बढ्दा एल निन्योको अवस्था सिर्जना हुन्छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार मनसुन अन्त्य हुनु अघि पश्चिमी वायुले पनि वर्षा गराएको थियो। “मनसुनको अन्त्यतिर एउटा न्यूनचापीय प्रणाली आयो जसले पनि वर्षा गरायो,” उनले भनिन्।

‘हिउँदे वर्षा कम हुन सक्छ’ मौसमविद् मदन सिग्देलले भनेका छन् कि नेपालमा एल निन्योका कारण हिउँदे वर्षा कम हुन सक्ने सम्भावना छ। “पोष्ट मनसुन र हिउँदे वर्षामा यसको प्रभाव देखिएको छ किनभने समुद्र सतहको तापक्रम तीन डिग्री सेल्सियसले बढिसकेको छ,” सिग्देलले स्पष्ट पारे। विश्व मौसम संगठनको रिपोर्टलाई उद्धृत गर्दै संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) ले भनेको छ कि एल निन्यो सन् २०२६ को अन्त्यतिर उत्कर्षमा पुग्दा एशिया क्षेत्रमा ठूलो प्रभाव पर्नेछ। यूएनडीपीले यसको प्रभाव कृषि र खाद्य सुरक्षामा पर्ने सम्भावनाबारे चेतावनी दिएका छन्। हिउँदे वर्षा कम हुँदा नेपालमा पनि हिउँदे बालीमा असर पर्नसक्ने सहप्राध्यापक सिग्देलले बताए। “अब पोष्ट मनसुनमा पानी कम पर्ने भएकाले हिउँदे र नगदे बालीसहित जलस्रोतमा यसको प्रभाव देखापर्नेछ। यसको असर सम्पूर्ण हिउँदभरि देखिने अनुमान गर्न सकिन्छ,” सिग्देलले बताए। नेपालमा हिउँदको औसत वर्षा ६६ मिलिलिटर भए तापनि यो तीन वर्षदेखि निरन्तर कम हुँदै आएको छ। गत वर्ष हिउँदमा औसतभन्दा २० प्रतिशत कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागको रिपोर्टमा उल्लेख छ।