Skip to main content
Advertisementxtreme adv

सुदूरपश्चिम रोयल्सले टेक राज थलाललाई आइकोनिक खेलाडीको रुपमा चयन गर्यो

२२ असोज, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट टेक राज थलाललाई आइकोनिक खेलाडीको रुपमा चयन गरेको छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजित ट्यालेन्ट हन्टमार्फत स्थानीय स्तरका क्रिकेट प्रतिभाहरू खोजी गरिएको थियो। ट्यालेन्ट हन्ट दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाडीहरूलाई समेटेर आयोजना गरिएको थियो।

असोज १४ गते बैतडीको दिलासैनीमा दार्चुला र बैतडीका खेलाडीहरूबाट सुरु भएको ट्यालेन्ट हन्ट असोज १५ गते बझाङ, असोज १६ गते डोटी र डडेल्धुरा तथा असोज १७ गते अछाम र बाजुरामा जारी राखिएको थियो। असोज १९ गते धनगढीमा कैलाली र कञ्चनपुरका खेलाडीहरूको ट्यालेन्ट हन्ट गरिएको थियो। ट्यालेन्ट हन्टको अन्तिम चरण असोज २० र २१ गते धनगढी क्रिकेट एकेडेमीमा सम्पन्न भएको थियो।

टेक राज थलाल यसअघि पनि सुदूरपश्चिमको विकास टोली (डेभलपमेन्ट स्क्वाड) मा रहिसकेका खेलाडी हुन्। यसपटक उनलाई सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो सिजनका लागि आइकोनिक खेलाडीको रुपमा अघि सारेको छ। ट्यालेन्ट हन्टबाट कञ्चनपुरका आर्यन बीके र लोकेश जोशी, कैलालीका हेमन्त बुढा, सन्तोष विश्वकर्मा र सुधांशु रावल तथा दार्चुलाका वीरेन्द्र बमलाई पनि ‘हिरोज’को रुपमा चयन गरिएको छ। उनीहरू पाँचैजना सुदूरपश्चिमको डेभलपमेन्ट स्क्वाडमा समावेश हुनेछन्।