Skip to main content
Advertisementxtreme adv

प्रियंका गान्धीको आरोप: भारतमा मोदी र शाहको तानाशाही चलिरहेको छ

दिल्लीमा प्रदर्शनका क्रममा ककरोच जनता पार्टीका नेतासहित थुप्रैलाई हिरासतमा लिइएपछि कांग्रेस नेतृ प्रियंका गान्धीले प्रहरीको कारबाहीप्रति आपत्ति व्यक्त गरेकी छन्। उनले भारतमा अब लोकतन्त्र छैन भनेर आरोप लगाएकी छन्। प्रियंका गान्धीले सामाजिक सञ्जाल एक्समा सुरुमा २५४ जना सांसदलाई जबर्जस्ती र पूर्णतया गैरकानुनी तरिकाले हिरासतमा लिइएको उल्लेख गरेकी छन्। यसले उनीहरूको आधारभूत संवैधानिक अधिकार उल्लङ्घन भएको उनको भनाइ छ। विपक्षी दलका अन्य प्रदर्शनकारीमाथि पनि यस्तै दमन गरिएको उनले आरोप लगाएकी छन्।

उनका अनुसार त्यसपछि भारतको राजधानी दिल्लीलाई चारैतिरबाट घेरा लगाएर र अवरोधक राखेर बन्द गरिएको थियो। रेल तथा मेट्रो सेवा बन्द गरिएको, इन्टरनेट सेवा रोकिने र विभिन्न स्थानमा सुरक्षा जाँच चौकी स्थापना गरिएको उनले बताएकी छन्। संवैधानिक अधिकार प्रयोग गर्दै प्रदर्शन गरिरहेका युवा, महिला र पुरुषलाई पनि हिरासतमा लिइएको उनले जानकारी गराएकी छन्। प्रियंका गान्धीले भनेकी छन्, ‘निर्वाचन आयोगको मिलेमतोमा चुनावमा धाँधली भएको छ र सरकारलाई आफ्नो वैधतामाथि प्रश्न उठ्ने तथा जवाफदेहिताको मागले आतंक फैलाएको छ भन्ने प्रमाण यो होइन भने के हो?’ उनले भारतमा अहिले लोकतन्त्र अस्तित्वमा नरहेको आरोप लगाउँदै भनिन्, ‘यो नरेन्द्र मोदी र अमित शाहले चलाएको तानाशाही हो।’