
यल स्पोर्ट्स एकेडेमीको आयोजनामा ललितपुरको ग्वार्कोमा पहिलो संस्करणको दसैं टेबलटेनिस प्रतियोगिता शनिबार सम्पन्न भएको छ। प्रतियोगितामा ३० वर्षमाथि, ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथिका चार पुरुष वर्गमा प्रतिस्पर्धा भएको थियो। ३० वर्षमाथिको वर्गमा एपीएफका बिलाश श्रेष्ठले स्वर्ण पदक जिते। उनले फाइनलमा एपीएफकै राजीव चिकंबन्जारलाई पराजित गरे। खोल्चा पोखरीका योगेन्द्र महर्जन र एभिएमका सलिम ताम्राकार तेस्रो स्थानमा रहेर कांस्य पदक जित्न सफल भए।
४० वर्षमाथिको वर्गमा विमलराज घिमिरेले राजकुमार खड्गीलाई हराउँदै स्वर्ण पदक प्राप्त गरे। खड्गीले रजत पदकमा चित्त बुझाए। यस वर्गमा एभिएमका अशोक महर्जन र कीर्तिपुरका दिलोन श्रेष्ठ तेस्रो स्थानमा रहँदा कांस्य पदक हात पारे। ५० वर्षमाथिको वर्गमा एभिएमका जयराम महर्जनले स्वर्ण पदक जिते। उनीसँगै पराजित संघरत्न डंगोल दोस्रो भए। भक्तपुरका सुबोध जोन्छे र बनेपाका मध्यश मकैले कांस्य पदक हात पारे। ६० वर्षमाथिको वर्गमा खोल्चा पोखरीका प्रकाश धाख्वाले स्वर्ण पदक जिते। कीर्तिपुरका रवीन्द्र महर्जन दोस्रो भए। मनोहरि थापा र एभिएमका सुदर्शनप्रसाद गौतमले कांस्य पदक प्राप्त गरे।
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा ललितपुर महानगरपालिका–१७ का वडाध्यक्ष विनोद महर्जन, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका सचिव शिवसुन्दर गोठेल लगायतको उपस्थिती थियो।







