Skip to main content
Advertisementxtreme adv

नेपाल भलिबल संघले पहिलो अन्तर्राष्ट्रिय भलिबल खेलेका खेलाडीहरुलाई सम्मान गर्‍यो

नेपाल भलिबल संघले ५० वर्षअघि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका राष्ट्रिय टोलीका खेलाडीहरुलाई शनिबार आयोजित गोल्डेन जुबली कार्यक्रममा सम्मान गरेको छ। ऋषिराज आचार्यको कप्तानीमा नेपाली टोलीले सन् १९७६ मा पाकिस्तानको कायदे आजम भलिबल प्रतियोगितामा अन्तर्राष्ट्रिय डेब्यु गरेको थियो। सम्मान कार्यक्रममा टोलीका व्यवस्थापक मधुसमशेर राणाले पाकिस्तान यात्राको अनुभव र प्रतियोगिताका यादगार क्षणहरू सुनाउँदै पाँच दशकपछि सम्मान पाएकोमा खुशी व्यक्त गरेका थिए। २४ असोज, काठमाडौं।

नेपालले पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको ५० वर्ष पूरा भएको अवसरमा नेपाल भलिबल संघ (एनभीए) ले शनिबार गोल्डेन जुबली कार्यक्रमको आयोजना गरी ती खेलाडीहरुलाई सम्मान गरेको हो। संघले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने टोलीका सदस्यहरुलाई सम्मानपत्र र खादा प्रदान गरेको थियो। ऋषिराज आचार्यको कप्तानीमा नेपाली टोलीले सन् १९७६ मा पाकिस्तानमा भएको कायदे आजम भलिबल प्रतियोगितामा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय भलिबलमा डेब्यु गरेको थियो।

समारोहमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको टोलीका चार खेलाडी र व्यवस्थापक मधुसमशेर राणाले सहभागिता जनाएका थिए। रेशम गुरुङ, रवीन्द्र श्रेष्ठ, मधुसुदन राना र कपिलकिशोर श्रेष्ठ कार्यक्रममा सहभागी भएका थिए। कप्तान ऋषिराज आचार्य र महेन्द्रलाल श्रेष्ठ भने उपस्थित हुन सक्नु भएन। कार्यक्रममा व्यवस्थापक राणाले ५० वर्षअघि पाकिस्तानमा प्रतियोगिता खेल्दा अनुभव गरेका क्षणहरु र रोचक घटनाकथाहरू सुनाए। उनले पाँच दशकपछि संघले आफूहरूलाई सम्मान गरेकोमा धेरै खुशी व्यक्त गरे।