
ककरोच प्रदर्शनमा मोदी सरकारको कडाइ, के बल प्रयोगले स्थिति नियन्त्रणमा आउला?

दिल्लीमा शनिबार मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) ले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप भएको छ। गुरुद्वारा बंगला साहिबदेखि जन्तरमन्तरसम्म जुलुस निकाल्ने प्रयास गरिरहेका सयौँ प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएको छ। सीजेपी तथा विपक्षी दलका नेताहरू नेहा बोरा लगायतलाई समेत हिरासतमा राखिएको छ। प्रदर्शनकारीहरूले प्रहरीको लाठी चार्ज र कठोर व्यवहारको आरोप लगाएका छन्। दिल्लीको कनट प्लेसमा प्रदर्शनकारीहरूसित यात्रुवाहक एक बसलाई वकिलले रोकेपछि त्यहाँ बसमा रहेका धेरै प्रदर्शनकारीहरू ओर्लिएर भागेका थिए। प्रश्न उठ्छ– पाँच महिनाअघि मात्र स्थापना भएको युवाहरूको एउटा संगठनले के गर्यो जसले गर्दा विशेष सघन पुनरावलोकन (एसआईआर) विरुद्धको प्रदर्शन हुनुअघि नै सरकारले यति ठूलो सुरक्षा व्यवस्था गर्नुपरेको हो? द इन्डियन एक्सप्रेसको समाचारअनुसार, ककरोच जनता पार्टीको प्रदर्शन रोक्न दिल्लीमा शुक्रबार साँझसम्म अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको थियो। कम्तीमा ३० हजार प्रहरी र अर्धसैनिक बलका जवान परिचालन गरेर राजधानीलाई बहुस्तरीय सुरक्षा घेरामा राखिएको थियो। यसमा जम्मु–कश्मीरजस्ता संवेदनशील क्षेत्रका सुरक्षाकर्मीहरू समेत सहभागी थिए। जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले दिल्लीको अवस्थालाई ‘कश्मीर मोडल’ लागू गरिएको टिप्पणी गरेका थिए। दिल्लीमा रेल र मेट्रो सेवा बन्द गर्ने सरकारी निर्णयप्रति भारतको सर्वोच्च अदालतले चिन्ता व्यक्त गर्दै सर्वसाधारणलाई असुविधा दिन नहुने बताएको थियो, तर सार्वजनिक यातायात प्रभावित भइरह्यो। यस विषयमा सीजेपीका सदस्य आशुतोष रांकाले भने, ‘तानाशाह इन्दिरा गान्धीले आपत्काल लागू गर्दा पनि रेलहरू समयमै चल्थे।’ समग्र घटनाक्रमबारे द हिन्दुसँग आबद्ध वरिष्ठ पत्रकार स्मिता गुप्ताले भनिन्, ‘पहिले प्रश्नपत्र चुहावट विषयमा सीजेपीले गरेको प्रदर्शन र एसआईआरविरुद्ध मुम्बईमा भएको विरोधबाट सरकारले आगामी दिनमा के हुनसक्छ भन्ने संकेत पाइसकेको थियो। त्यसैले यसपटक त्यस्तो अवस्था दोहोरिन नदिन सरकार चाहन्थ्यो।’ अर्कोतर्फ, वरिष्ठ पत्रकार तवलीन सिंहले केन्द्र सरकारको कदमको आलोचना गरेकी छन्। उनका अनुसार, ‘दिल्लीमा यसअघि प्रहरी र अर्धसैनिक बलको यति ठूलो परिचालन वा यस्तो हल्ला भएको मलाई याद छैन। सरकारले ककरोच जनता पार्टीलाई अत्याधिक महत्त्व दिएर फायदेमा पारिरहेको छ।’






