Skip to main content
Advertisementxtreme adv

अरिफुल इस्लाम कर्णाली याक्सबाट एनपीएल खेल्न तयार

बङ्गलादेशका युवा ब्याटर अरिफुल इस्लाम नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन्। उनले बङ्गलादेशको १९ वर्षमुनिको टोलीबाट विश्वकप खेलिसकेका छन् र अस्ट्रेलियामा सम्पन्न टप इन्ड टी–२० सिरिजमा प्रभावशाली प्रदर्शन गर्दै सात खेलमा २१९ रन बनाएका थिए। कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले अरिफुलको आगमनले टोलीको ब्याटिङलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

अरिफुलले बङ्गलादेशको हाइ पर्फमेन्स टोली र ‘ए’ टोलीबाट पनि खेलिसकेका छन्। उनले ३६.५० को औसत र १३८.६० को स्ट्राइक रेटमा खेल्दै प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा तेस्रो स्थानमा रहेका थिए। दायाँ हाते ब्याटर अरिफुलले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा पनि भाग लिएका छन्। उनले अघिल्लो संस्करणमा सिल्हेट स्ट्राइकर्सबाट खेलेका थिए।

ज्ञानेन्द्र मल्लले भने, ‘अरिफुल एक प्रतिभाशाली र आक्रामक ब्याट्सम्यान हुन्। टप इन्ड टी–२० सिरिजमा उनको प्रदर्शन प्रभावशाली थियो। उनको क्षमताले कर्णाली याक्सको ब्याटिङलाई अझ शक्तिशाली बनाउने आज हामीलाई विश्वास छ। एनपीएलको तेस्रो संस्करणमा उनले आफ्नो प्रतिभा देखाउँदै टोलीलाई सफल बनाउन महत्वपूर्ण योगदान दिने आशा राख्छौं।’ कर्णालीले यसअघि मार्क वाट र अकबर अलीलाई अनुबन्ध गरिसकेको छ। अरिफुल यस सिजन टोलीमा जोडिने तेस्रो विदेशी खेलाडी हुन्। एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु हुँदैछ।