
जिबुटी तटमा डुंगा पल्टँदा १०९ जनाको मृत्यु, ११६ जना बेपत्ता

जिबुटी तटमा डुंगा दुर्घटना हुँदा १५ बालबालिका सहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ। उक्त दुर्घटनामा ११६ जना बेपत्ता भएका छन्। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार यो जानकारी दिएको हो। आईओएमका अनुसार अक्टोबर ८ र ९ को मध्यरातमा जिबुटीबाट यमनतर्फ ३५० जनालाई बोकेर गएको डुंगा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो।
जिबुटीस्थित आईओएमका मिसन प्रमुख अलेक्जेन्डर कोइसेकले यस घटनालाई ठूलो मानवीय क्षति भएको भन्दै मृतकका परिवार र आफन्तहरूको अवस्थाबारे जानकारी नपाउन पुगेका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले उद्धार र आपत्कालीन सहायता प्रदान गर्न आईओएमका टोली जिबुटीका अधिकारीसँग मिलेर घटनास्थलमा खटिएको बताएका छन्।
आईओएमका अनुसार दुर्घटनामा मृत्यु भएका १०९ जनामध्ये ५२ पुरुष, ४२ महिला र १५ बालबालिका छन्। मृत बालबालिकामा नौ बालिका र छ बालक रहेका छन्। दुर्घटनाबाट ८० भन्दा बढी व्यक्ति बाँच्न सफल भएका छन्। ती सबै इथियोपियाली नागरिकहरू हुन्। आईओएमले यो दुर्घटनाले आर्थिक अवसरको खोजीमा बाब–अल–मन्देब जलमार्ग पार गर्दै यमन हुँदै खाडी मुलुकहरू पुग्ने प्रयास गर्ने आप्रवासीहरूले सामना गर्नुपर्ने जोखिमहरू पुनः उजागर गरेको जनाएको छ। ‘मध्यपूर्वमा बढ्दो अस्थिरता बाबजुद गरिबी, असुरक्षा र जलवायु परिवर्तनको प्रभावले धेरै मानिसलाई यो जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको छ,’ आईओएमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।





