

रासिद र करणको उत्कृष्ट ब्याटिङमा काठमान्डुले कर्णालीलाई हरायो


रासिद खानले आदिल आलम र कप्तान करण केसीसँग दुई अर्धशतकिय साझेदारी गर्दै काठमान्डुको जितको आधार तयार पारेका थिए। रासिद खान र करण केसीको उत्कृष्ट ब्याटिङमा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ। काठमान्डुले १८१ रनको लक्ष्य १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै दुई खेलबाट २ अंक जोडेको छ। रासिद खानले ५० रन र करण केसीले ४४ रन बनाएर जितको आधार तयार पारे, जबकि जहानदान खानले अविजित २२ रन जोडे।
१६ कात्तिक, काठमाडौं। रासिद खान र करण केसीले उत्कृष्ट ब्याटिङ गरेपछि काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै एनपीएलमा पहिलो जित हात पारेको छ। सोमबारको पहिलो खेलमा कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य काठमान्डु गोर्खाजले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमान्डुले पहिलो जितपछि दुई खेलबाट २ अंक जोडेको छ। कर्णालीको भने लगातार दुई जितपछि यो पहिलो हार हो।
काठमान्डुका लागि रासिद खानले अर्धशतक प्रहार गरे। उनले ३४ बल खेल्दै ३ चौका र २ छक्काको मदतमा सर्वाधिक ५० रन बनाए। यस्तै कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै २० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनको योगदान गरे। रासिद खानले आदिल आलम र कप्तान करण केसीसँग दुई अर्धशतकिय साझेदारी गर्दै काठमान्डुको जितको आधार तयार पारेका थिए।
अष्ट्रेलियन चर्चित खेलाडी डेभिड वार्नरले नेपाल आएको भोलीपल्टै काठमान्डुका लागि ओपनिङ गर्दै एनपीएलमा डेब्यु गरेका थिए। १० बल खेल्दै ३ चौका मदतमा १६ रन बनाएका वार्नरलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरे। अर्का ओपनर स्मित पटेल पनि ९ रनमै आउट हुँदा काठमान्डुले २८ रनमा २ विकेट गुमाएको थियो। तर तेस्रो विकेटका लागि रासिद खान र आदिल आलमले ५४ रनको साझेदारी गरे। सुस्त ब्याटिङ गरेका आदिलले २७ बल खेल्दै १ छक्का प्रहार गरी २० रन जोडे। आदिल आउट भएपछि आएका भिम शार्की ४ रन बनाएर आउट भए। एक छेउ सम्हालेका रासिद खानले कप्तान करण केसीसँग अर्को अर्धशतकिय साझेदारी गरे। रासिद र करणले २६ बलमै ५५ रनको साझेदारी गरेका थिए।
१७औं ओभरमा रासिद खान अर्धशतक बनाए लगत्तै आउट भए। तर १८औं ओभरमा कप्तान करण र जहानदान खानले १५ रन जोड्दै जितको सम्भावना कायम राखेका थिए। उक्त ओभरमा करण आउट भएपछि काठमान्डुलाई जितका लागि १२ बलमा २१ रन आवश्यक थियो। तर १९औं ओभरमा जहानदान खानले पवन सर्राफलाई लगातार २ छक्का प्रहार गरे। उक्त ओभरमा काठमान्डुले १७ रन जोडेपछि जितका लागि अन्तिम ओभरमा ४ रन मात्र आवश्यक भयो। २०औं ओभरमा नन्दनले पहिलो बल डट राखेपनि जहानदान खान र सन्तोष यादवले लगातार सिंगल लिए भने चौथो बलमा जहानदानले २ रन जोड्दै जित निश्चित गरे। जहानदानले १० बल खेल्दै १ चौका र २ छक्का मदतमा अविजित २२ रन योगदान गरे।
बलिङमा कर्णालीका लागि कप्तान सोमपाल कामी र हुसेन तलतले २–२ विकेट लिए। मार्क वाट र नन्दन यादवले १–१ विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो। कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बल खेल्दै ५ चौकामा र ३ छक्का प्रहार गरे। यस्तै हुसेन तलतले ३० बलमा १ चौका र २ छक्का प्रहार गरी ४० रन जोडे। पवन सर्राफले २३ बलमा २ छक्का मदतमा अविजित ३० रन जोडे। गुल्सन झाले १२ बलका २ छक्का प्रहार गर्दै २० रनको योगदान गरे। कर्णालीका लागि अरिफुल इस्लामसँग बंगलादेशमा अर्का खेलाडी जिशान आलमले ओपनिङ गरेका थिए। आइतबार मात्रै नेपाल आइपुगेका जिशानले पहिलो खेल खेलेका हुन्। टिमको स्कोर २औं रन हुँदा उनी व्यक्तिगत ७ रनमा आउट भए। दोस्रो विकेटका लागि अरिफुल इस्लाम र मार्क वाटले ४६ रनको साझेदारी गरेका थिए। १२ रन अन्तरमा अरिफुल, दिपक डुम्रे र मार्क वाट आउट हुँदा कर्णाली ७८–४ को अवस्थामा पुगेको थियो। तर पवन सर्राफ र हुसेन तलतले पाँचौ विकेटका अर्धशतकिय साझेदारी गर्दै कर्णालीको इनिङ्स सम्हाले। १७औं ओभरको अन्तिम बलमा तलत हिट विकेट हुनुअघि सर्राफसँग ६५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। त्यसपछि पवन र गुल्सन झाले १६ बलमा २८ रनको साझेदारी गरे। बलिङमा काठमान्डुका लागि कप्तान करण केसीले २ तथा शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले १–१ विकेट लिए।

सम्बन्धित खबर









