Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सरकारलाई संसद्‌मा ‘तान्न’ विपक्षी एकजुट, न्यायालय र प्रेससम्बन्धी विवादित गतिविधिहरूको चासो

Advertisement800×200-1

पछिल्ला दिनहरूमा न्यायालय, प्रहरी, प्रेस र कर्मचारी संयन्त्रलाई तरङ्गित पार्ने घटनाहरू सार्वजनिक भइरहेका छन्, जसलाई धेरैले सहज र स्वाभाविक रूपमा हेरेको देखिँदैन। जटिल र संवेदनशील घटनाक्रम उजागर हुँदा उत्पन्न परिस्थितिलाई व्यवस्थित ढङ्गले निचोडमा पुर्‍याउने सामर्थ्यको बारेमा चिन्ता व्यक्त गरिएको छ। यसै बेला विपक्षी दलहरूले सङ्घीय संसद्मा त्यसको छिनोफानो गर्न संसद् अधिवेशनको माग गर्ने निर्णय गरेका छन्।

“चाँडोभन्दा चाँडो संसद् बैठक बोलाएर त्यहीँ भित्रबाट धेरै कुराहरूको छिनोफानो खोज्नु पर्छ भन्ने सहमति गरेका छौँ,” नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपक्षी दलहरूको बैठकपछि भने, “हामीले सभामुखसँग पनि भेट्छौँ।” पछिल्ला घटनाक्रमलाई लिएर आइतवार कांग्रेस सभापति गगन थापाले “विशेष सम्बोधन” गरेका थिए। उनले पत्रकार र कर्मचारी पक्राउ लगायतका विषयमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै “हद नाघेको” आफ्नो ठहर सुनाए।

विपक्षी दल एक ठाउँमा आएर संसदीय दलमार्फत् बैठक आयोजना गरेका छन्। प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने विपक्षी पार्टीहरूले कांग्रेसको अग्रसरतामा कदम मिलाएका छन्। “संविधान, लोकतन्त्र, राष्ट्रियता र जनताका विषयहरूबारे गम्भीर छलफल आवश्यक भएको छ,” नेकपाका नेता प्रमेश हमालले भने, “त्यसैले यथाशीघ्र संसद् अधिवेशन माग गर्ने निर्णय गरेका हौँ।” यस विषयमा सरकार र सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै टिप्पणी गरेको छैन।

कांग्रेस नेता आङ्देम्बेले सरकार र सत्ताधारी दल रास्वपाबीच तालमेलबारे संशय प्रकट गरेका छन्। “पार्टीले निर्देशन दिएको कुरा उहाँहरूकै संसदीय दलले मानिरहेको छ कि छैन, त्यो हामीलाई थाहा छैन,” उनले विवादमा आएका न्यायाधीशहरूमाथि महाभियोग लगाउने चर्चाबारे टिप्पणी गरे। पछिल्ला घटनाक्रमसँगै प्रधानमन्त्री बालेन र पार्टी सभापतिबीचको सम्भावित मतभेदमा विपक्षीले भूमिका खोजेका हुन्।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले विपक्षीको नियतमा प्रश्न उठाउने पक्षमा देखिएनन्। “सरकारको गन्तव्य प्रस्ट देखिएको छैन, बेलाबेलाका घटनाहरूले निरङ्कुशतातर्फ जान्छ कि भन्ने आशङ्का गर्ने ठाउँ दिएका छन्,” उनले भने। विपक्षी दलहरूको अग्रसरताले रवि-बालेनबीच रहेको भनिएको मतभेद र विमतिलाई थप बढाउने सम्भावनाबारे उनले भने, “किन कि बालेन शाहको शैली र काम कारबाही लामो समय टिक्ने खालको छैन।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर