सभामुखसँग आङ्देम्बेको भेट: संसद् बैठक र संसदीय छानबिनको माग
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरी विपक्षी दलहरूको संसद् बैठक बोलाउनुपर्ने मागबारे जानकारी गराएका छन्। मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक विषय र संसदीय गतिविधिबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। आङ्देम्बेले सोमबार बसेको विपक्षी दलहरूको बैठकका निष्कर्ष सभामुखसमक्ष राखेका हुन्।
उक्त बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक तत्काल आह्वान गर्नुपर्ने र न्यायाधीशसँग सम्बन्धित सार्वजनिक प्रश्नहरूबारे संसदीय छानबिन हुनुपर्ने निष्कर्ष निकालेको थियो। यसअघि सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकारमाथिको धरपकडलगायत सरकारसँग जोडिएका विवादित विषयमा स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको थियो। कांग्रेसले न्यायालयमा बिचौलियामार्फत मुद्दामा मिलेमतो भएको भनिएको प्रकरणमा समेत उच्चस्तरीय संसदीय छानबिन आवश्यक रहेको जनाएको छ।
कांग्रेस प्रमुख सचेतक बासना थापाले सम्बन्धित आरोपमा सरकारी नेतृत्वसमेत जोडिएको भन्दै सरकारी निकायबाट हुने छानबिनको निष्पक्षतामा पार्टीले प्रश्न उठाएको बताएकी थिइन्। यी विषयमा उठेका आरोपको छानबिन संसद्बाट गठित समितिमार्फत हुनुपर्ने कांग्रेसको धारणा छ। संसदीय दलको बैठकपछि कांग्रेसको आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले पनि संसद् सञ्चालनका लागि सभामुखको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आङ्देम्बेले मंगलबार सभामुखसँग भेट गरेका हुन्। भेटमा सभामुखले दिएको प्रतिक्रियाबारे भने सचिवालयले थप विवरण सार्वजनिक गरेको छैन।
