

भूकम्प मापनयन्त्रको प्रयोगले हिमाली क्षेत्रमा बाढीको पूर्वानुमान गर्न सकिने अध्ययन


भूकम्प मापन गर्ने यन्त्र “साइज्मोमिटर”मा रेकर्ड भएको तरङ्गलाई अध्ययन गरेर हिमाली क्षेत्रबाट सुरु हुने हिमपहिरो र त्यसले निम्त्याउने बाढीको पूर्वानुमान गर्न सकिने निष्कर्ष एउटा वैज्ञानिक अध्ययनले निकालेको छ। उक्त अध्ययनका अनुसार गत भदौ १० गते बिहान नेपाली समयानुसार ८ः३७:१६ बजे स्यान्बूरीको उत्तरी भिरालो भागको लाङ्टाङ हिमशृङ्खलामा हिमचट्टान खसेर पहिरो सुरु भएको थियो। त्यो हिमचट्टानको वेग १६५ किलोमिटर प्रतिघण्टा थियो भने त्यसबाट उत्पन्न कम्पनको तरङ्ग ५.२ म्याग्निट्यूडको भूकम्पजत्तिकै मापन भएको थियो।
खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले सुरुमा हिमचट्टानको पहिरो गएको र त्यो बगेर ठूलो बाढी आएको बताए। उनका अनुसार हिमचट्टानको पहिरोले बगाएको हिमनदीजन्य पदार्थको कुल आयतन झन्डै १० करोड घनमिटर थियो भने चट्टानको ढिक्काको लम्बाइ १.४ किलोमिटर र उचाइ ५०० मिटर थियो। “भदौ १० गते ठूलो विनाश गराउने पहिरो सुरु हुनुभन्दा १७ मिनेटअगाडि मात्रै पनि २.५ म्याग्निट्यूडको भूकम्प बराबरको तरङ्ग रेकर्ड भएको थियो,” अधिकारीले भने, “पहिरो सुरु हुनुभन्दा दुई साताअघिको अवधिमा ६० भन्दा बढी भूकम्पीय घटनाहरू रेकर्ड भएका थिए।”
उक्त घटनाको झन्डै डेढ महिनापछि बूढीगण्डकीमा अचानक बाढी आउँदा पनि कम्पन रेकर्ड गरिएको बताइएको थियो। भूकम्प मापन गर्ने उपकरणले रेकर्ड गरेका तरङ्गहरूको विश्लेषण गरेर नै भविष्यमा भोटेकोशी-त्रिशूली बाढीजस्ता हिमाली क्षेत्रमा आउन सक्ने ठूला बाढीको पूर्वानुमान गरेर त्यसको क्षतिबाट बच्न सकिने अधिकारीले बताए। उक्त अध्ययनका निम्ति खानी तथा भूगर्भ विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारी र शिव सुवेदीसहित सात देशका १७ जना वैज्ञानिकले सहकार्य गरेका हुन्। सो अध्ययन वैज्ञानिक जर्नल Seizmica मा प्रकाशित भएको छ।

सम्बन्धित खबर









