

बङ्गलादेशमा गार्मेन्ट कामदारको तलब बढाउने सहमति, विरोध प्रदर्शनपछि निर्णय


बङ्गलादेशको गार्मेन्ट ज्याला बोर्डले पाँच दिनदेखि जारी प्रदर्शनपछि कामदारको न्यूनतम तलब बढाउने सहमति जुटेको बुधबार जनाएको छ। कामदारहरूले हालको १२ हजार ५०० टाका तलब बढाएर ३० हजार टाका पुर्याउन माग गर्दै गाजीपुर, मिरपुर, नारायणगञ्ज र सावरमा प्रदर्शन जारी राखेका छन्। बङ्गलादेशको गार्मेन्ट उद्योगले कुल निर्यात आम्दानीको करिब ८० प्रतिशत हिस्सा ओगटेको छ र वार्षिक निर्यात ३८ अर्ब अमेरिकी डलर रहेको छ। १८ कात्तिक, ढाका (रासस/एएफपी)।
बङ्गलादेशको गार्मेन्ट उद्योगसम्बन्धी ज्याला बोर्डले पाँच दिनदेखि जारी विरोध प्रदर्शन र छिटपुट झडपपछि कामदारको न्यूनतम तलब बढाउन सहमति जुटेको बुधबार जनाएको छ। सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेश चीनपछि विश्वकै दोस्रो ठूलो तयारी पोसाक निर्यातकर्ता मुलुक हो। यहाँ विश्वका चर्चित ब्रान्डका लागि कपडा उत्पादन गरिन्छ। गार्मेन्ट क्षेत्रमा ४० लाखभन्दा बढी मानिस कार्यरत छन्। तर, न्यून तलब, कमजोर कार्य वातावरण र श्रमिक अधिकारसम्बन्धी लामो समयदेखिका विवादले यस क्षेत्रको विकासमा चुनौती थप्दै आएका छन्।
गत शनिबारदेखि हजारौँ गार्मेन्ट कामदार तलब वृद्धिको माग गर्दै प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनका क्रममा केहीले इँटा प्रहार गर्नुका साथै सडक अवरुद्ध गरेका छन् भने प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको छ। ज्याला बोर्डमा कामदारका प्रतिनिधि बाबुल अख्तरले कामदारहरूले डिसेम्बरभित्रै तलब वृद्धि गर्ने निर्णय गर्न माग गरेको बताए। यसो भए जनवरीदेखि परिमार्जित तलब पाउन सकिने उनको भनाइ छ।
बङ्गलादेशमा मुद्रास्फीति आठ प्रतिशतको हाराहारीमा रहेकाले खाद्यान्न, आवास, यातायात र स्वास्थ्य सेवाको मूल्यवृद्धिले कामदारको क्रयशक्ति घटाएको छ। कामदारहरूले हालको मासिक न्यूनतम तलब १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका (करिब २४० अमेरिकी डलर) पु-याउन माग गरेका छन्। यो हालको न्यूनतम तलबभन्दा १४० प्रतिशत बढी हो। सरकारले तलब वृद्धिसम्बन्धी विषयमा वार्ता गर्न रोजगारदाता र कामदारका प्रतिनिधि सम्मिलित ज्याला बोर्ड आइतबार गठन गरेको थियो। यद्यपि, तलब कति बढाउने भन्नेबारे सहमति भइसकेको छैन।

सम्बन्धित खबर









