Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

चलचित्रले १८ वटा अवार्ड जितेपछि भारतमा बटुलिरहेको वाहवाही

Advertisement800×200-1

दुई वर्षअघि नै निर्माण सम्पन्न भए पनि सिनेमा हलसम्म पुग्न दुई वर्ष लागेको एक वृद्ध दम्पतीको कोमल प्रेम र शान्त एक्लोपनमा आधारित चलचित्रले अहिले भारतभरि नै समीक्षक र दर्शकहरूको मत जितिरहेको छ। टेलिभिजन पत्रकारबाट चलचित्र निर्माता बनेका विनोद काप्रीले निर्देशन गरेको १११ मिनेट लामो चलचित्रले बसाइँसराइको गम्भीर समस्यालाई उजागर गरेको छ। यसका कारण हिमालय क्षेत्रका सयौँ सुन्दर गाउँहरू खाली भएका छन् र ती गाउँहरू भूत बस्तीमा परिणत भएका छन्। जलवायु परिवर्तनका कारण यो क्षेत्रको मौसम झन् कठोर बन्दै गएको विषयलाई पनि चलचित्रले प्रस्तुत गरेको छ।

सामाजिक सञ्जालमा धेरै भारतीयहरूले चलचित्र हेरेर हलबाट आँसु झार्दै बाहिर निस्किएका दर्शकहरूको भिडिओ शेयर गरेका छन्। अरू कतिपयले लामो समयदेखि कुनै चलचित्रले आफूलाई यति धेरै भावुक नबनाएको प्रतिक्रिया दिएका छन्। चलचित्रका मुख्य कलाकारहरू पनि प्रशंसाका पात्र बनेका छन्। उनीहरू साधारण गाउँले हुन् जसले यसअघि कहिल्यै क्यामरा देखेका थिएनन्। बलिवुडका प्रतिष्ठित व्यक्तिहरू नसीरूद्दिन शाह र अनुपम खेरलगायतले पनि उनीहरूको अभिनयको तारिफ गरेका छन्।

पाएरका मुख्य पात्रहरू पदम सिंह (काप्रीका काका पदम सिंहले अभिनय गरेका छन्) र तुलसी (हीरा देवीले अभिनय गरेकी) छन्। उनीहरूलाई स्थानीय भाषामा बुबु र आमा भनिन्छ जसको अर्थ हजुरबुवा र हजुरआमा हो। यो वृद्ध दम्पती भारतको उत्तरी राज्य उत्तराखण्डको पहाडी क्षेत्रमा रहेको एउटा सानो घरमा बस्छन्। त्यहाँ मानिसको उमेरलाई इतिहासका महत्त्वपूर्ण घटनासँग तुलना गरेर मापन गरिन्छ। सिंह दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा दुई वर्षअघि जन्मिएका थिए भने तुलसी जापानमा परमाणु बम खसालिएको वर्ष जन्मिएकी थिइन्।

निर्देशक काप्रीका अनुसार, यो चलचित्र मुख्य रूपमा वृद्ध दम्पतीको जीवनको अन्तिम दिनहरूमा आधारित “हृदयस्पर्शी प्रेमकथा” मा केन्द्रित छ। उनले भने, “उनीहरूले ६५ वर्षसम्म सँगै जीवन बिताएका छन्। पछिल्ला २८ वर्षदेखि उनीहरू कामको खोजीमा मुम्बई गएको आफ्नो छोरा हरिया फर्किने पर्खाइमा छन्।” यति लामो समयपछि अचानक छोराको एउटा पत्र आउँछ। पत्रमा उसले आफू भेट्न आउने मिति उल्लेख गरेको हुन्छ। योसँगै उनीहरूको प्रतीक्षाको व्यग्रता बढ्छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर