

भारतको कश्मीरमा चरमपन्थी हमलामा तीन सुरक्षाकर्मी घाइते


भारतको दक्षिण कश्मीरस्थित कुलगाम जिल्लामा बुधबार संदिग्ध चरमपन्थीले गोली चलाउँदा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का कम्तीमा तीन जवान घाइते भएका छन्। सीआरपीएफका एक अधिकारीका अनुसार दिउँसो कुलगामको मीर बजार क्षेत्रस्थित नौपोरा अखराननजिक मोटरसाइकलमा आएका अज्ञात आक्रमणकारीले प्रहरी टोलीमाथि गोली चलाएका थिए। गोली चलेको आवाज सुनेपछि स्थानीय पसलेहरूले पसल बन्द गरेका थिए भने सडकमा हिँडिरहेका सर्वसाधारण ज्यान जोगाउन भागेका थिए। आक्रमणपछि हमलाकर्ता घटनास्थलबाट फरार भएका छन्।
घाइते जवानहरूलाई अनन्तनागस्थित सरकारी मेडिकल कलेजमा भर्ना गरिएको थियो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिलाल मुशर्रफका अनुसार एक जवानको पेटमा, अर्काको हातमा र तेस्रोको खुट्टामा चोट लागेको छ। उनले तीनै जनाको अवस्था स्थिर रहेको जानकारी दिए। तर, अधिकारीहरूको अनुरोधमा एक जवानलाई थप उपचारका लागि श्रीनगरस्थित सैनिक आधार अस्पताल पठाइएको छ। अहिलेसम्म कुनै पनि चरमपन्थी संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन। घाइते जवानहरूको पहिचानसमेत सार्वजनिक भएको छैन। घटनापछि सुरक्षाकर्मीले आक्रमणकारीको खोजीका लागि उक्त क्षेत्रमा तलासी अभियान सुरु गरेका छन्। प्रत्यक्षदर्शीका अनुसार दक्षिण कश्मीरका कुलगाम र अनन्तनाग जिल्लाका विभिन्न स्थानमा सुरक्षा जाँच चौकी स्थापना गरी आवतजावत गर्ने व्यक्तिहरूको तलासी भइरहेको छ। दक्षिण कश्मीरमा चार महिनाअघि भएका आक्रमणमा जम्मु–कश्मीर प्रहरीका एक जवान र छत्तीसगढका दुई गैरस्थानीय प्रवासी मजदुरको गोली हानी हत्या गरिएको थियो।

सम्बन्धित खबर









