

दोस्रो विश्वयुद्धमा मारिएका सैनिकको प्रेमकथा एक शताब्दीपछि पुनः चर्चामा


“मेरी प्रिय, मेरालागि सबैथोक तिमी हौ…” यो शब्द ब्रिटिश सेनाका विली वेबरले पहिलो विश्वयुद्धको युद्ध मैदानबाट आफ्नी श्रीमती ग्लाडिजलाई लेखेका हुन्। सन् १९१७को डिसेम्बरमा विवाह गरेका यो जोडीले धेरै छोटो समय सँगै बिताउन पाए। विली, जो ब्रिटिश सेनाको रोयल ग्यारिसन आर्टिलरीको गोला चलाउने ‘गनर’ दर्जामा कार्यरत थिए, विवाह लगत्तै पश्चिमी किल्लामा खटिए। सन् १९१८मा युद्धरत पक्षहरूबीच हतियार बिसाउने ‘आर्मिस्टिस’ सम्झौता हुनुभन्दा केही हप्ताअघि मात्र उनी युद्धमा मारिए।
दुई जना अपरिचित मानिसहरूले यो प्रेम कथालाई मानिसहरूको स्मृतिबाट मेटिन नदिन सक्रियता देखाएपछि, विलीका चिठी पत्रहरू एक शताब्दीपछि सार्वजनिक गरिएको छ। सन् १९१७को डिसेम्बरदेखि १९१८ को अक्टोबरबीचका १०० वटा चिठीले युद्धको पृष्ठभूमिमा प्रेमको कथा देखाउँछ। विलीले नियमित चिठीपत्र पठाए, जसमा उनले आफ्नी श्रीमतीलाई सुकेका फुलहरू राखेर मायालु सन्देशहरू लेख्थे। तर, उनले चाहेको पुनर्मिलन कहिल्यै हुन सकेन।
सन् १९१८को अक्टोबरमा, २५ वर्षका यी युवा सैनिक दुर्घटनावश आफ्नै बन्दुकबाट चलेको गोली लागेर मारिए। यो जोडीका बालबच्चा थिएनन् र उनीहरूको प्रेमकथा सुनाउने कोही बाँकी थिएन। तर, यी चिठीपत्रहरू लेखिएको एक शताब्दीपछि चर्चामा आएपछि, यो जोडीको स्मृतिलाई ताजा गरिएको छ। सन् २०२५ मा यी प्रेम पत्रहरूको सङ्कलन अनलाइनमा लिलाममा बिक्रीमा राखियो।
नोरिचका मेकानिक एन्डी गार्नरले युद्धका चिठीहरू सङ्कलन गर्ने र प्रकाशित गर्ने काम गर्दै आएका छन्। उनले विली र ग्लाडिजका चिठीहरू हेरेपछि यसलाई संरक्षण गर्ने अठोट लिए। लिलाममा चिठीको मोल बढ्दै गयो र अन्तिम क्षणमा एन्डीले ३५१.५१ पाउन्डमा लिलाम जिते। चिठीहरूको सँगालो छाप्ने निर्णय गरेपछि, एन्डी र किथ बजनले मिलेर विली र ग्लाडिजको विवाह भएको नाइटनमा युद्धमा मारिएका सैनिकको संस्मरण गर्ने निर्णय गरे। यस क्रममा उनीहरूलाई समुदायबाट उल्लेख्य सहयोग प्राप्त भयो।

सम्बन्धित खबर









