Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

गर्मीयामको जितपछि जाडोयाममा अनिश्चितताको सामना गर्दै भारतका जेनजी

Advertisement800×200-1

जुलाई महिनामा दिल्लीको जन्तरमन्तरस्थित विरोध प्रदर्शन स्थलमा खुसीयाली छाएको थियो। सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको खबर सार्वजनिक भएसँगै जेनजी युवाहरूको आन्दोलनले उनलाई पद छाड्न बाध्य बनाएको थियो। एकजना प्रदर्शनकारीले मुस्कुराउँदै मतिर फर्केर भने, “यो युवाहरूको जित हो।” तर तीन महिनाभन्दा केही बढी समय बितिसक्दा परिस्थितिको माहौल नाटकीय रूपमा बदलिएको छ। अहिले विद्यार्थी प्रदर्शनकारीहरूलाई भेला हुनसमेत कठिन भइरहेको छ। गत महिना मतदानको अधिकारको माग गर्दै जेनजी नेतृत्वको कक्रोच जनता पार्टी सीजेपीले गरेको प्रदर्शनमा व्यापक प्रतिबन्ध लगाइयो र हजारौँ शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई हिरासतमा लिइयो।

गर्मीयाममा भारतमा असन्तुष्टिको नयाँ लहर देखिएको थियो। युवाहरूमा गहिरिँदै गएको निराशा र सामाजिक सञ्जालमा फैलिएको व्यङ्ग्यात्मक तथा विद्रोही शैलीको हास्यले उक्त आन्दोलनलाई थप ऊर्जा दिएको थियो। आन्दोलन देशभरि फैलियो र बलियो नेताको छवि बनाएका र खुला आलोचना वा व्यङ्ग्यको सामना गर्न अभ्यस्त नरहेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसलाई नियन्त्रणमा लिन कठिन भयो। तर सरकारले सुरक्षा व्यवस्थाका नाममा झन् कडा कदम चाल्दै जानुले प्रदर्शनकारीहरूलाई दिएको दुर्लभ छुटबाट उसले पाठ सिकेको र सार्वजनिक सुव्यवस्थाको कारण देखाउँदै असहमतिका आवाजहरूलाई नियन्त्रण गर्न थालेको सङ्केत गर्छ।

सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) का राष्ट्रिय प्रवक्ता सैयद जफल इस्लामले सरकारमाथि अत्यधिक बल प्रयोग गरेको आरोप अस्वीकार गर्दै बीबीसीसँग भने, “विरोध प्रदर्शन गर्ने अधिकार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति संविधानले गरेको छ। तर यी अधिकारहरू कानुनको दायराभित्र रहेर प्रयोग गरिनुपर्छ। सार्वजनिक सुरक्षाको मूल्यमा अरूको अधिकारलाई बेवास्ता गर्दै ती अधिकार प्रयोग गर्न मिल्दैन।” मोदी सरकारले ठूलो स्तरका विरोध प्रदर्शनहरूको सामना गरेको यो पहिलो पटक भने होइन।

तर सेन्टर फर पोलिसी रिसर्चकी पूर्वअध्यक्ष तथा ब्राउन विश्वविद्यालयकी भिजिटिङ प्रोफेसर यामिनी अय्यरका अनुसार यी प्रदर्शनको व्यापकता बिजेपीका लागि चुनौती बनेको छ। उनले भनिन्, “यी आन्दोलनहरू जात, लिङ्ग वा आर्थिक वर्गका आधारमा परिभाषित छैनन्। बिजेपीको परम्परागत समर्थक आधारका केही समूह, विशेषगरी आर्थिक रूपमा माथि उक्लिँदै गरेका न्यून आय भएका वर्गका मानिसहरू पनि यो आन्दोलनप्रति आकर्षित भएका थिए।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर