
समाचार सारांश सम्पादकीय समीक्षा गरिसकिएको छ। संवेदनशील, सुख्खा र डन्डीफोर समस्या भएका व्यक्तिहरूले फेस आइसिङ गर्दा छाला रोग विशेषज्ञको सल्लाह लिनु आवश्यक छ। हरेक व्यक्ति चाहन्छन्, मेकअप नगरे पनि अनुहार ताजा, चम्किलो र आकर्षक देखियोस्। यही चाहनाका कारण अहिले सामाजिक सञ्जालमा विभिन्न किसिमका छाला हेरचाहका उपायहरू भाइरल भइरहेका छन्। त्यसमध्ये पछिल्लो समय ‘फेस आइसिङ’ अर्थात् अनुहारमा बरफ लगाउने तरिका निकै चर्चामा आएको छ। अनुहारमा बरफ लगाउँदा केही मिनेटमै चमक आउने, छालाका छिद्र (पोर्स) सानो देखिने, सुन्निएको अनुहार कम हुने र छाला कसिलो देखिने दाबी सामाजिक सञ्जालमा गरिएको छ। सजिलो, सस्तो र घरमै गर्न सकिने भएकाले धेरैले यसलाई दैनिक सौन्दर्य हेरचाहको हिस्सा बनाउन थालेका छन्। तर छालासँग सम्बन्धित हरेक प्रक्रिया सबैका लागि सुरक्षित हुँदैन। गलत तरिकाले वा धेरै समयसम्म अनुहारमा बरफ लगाउँदा छालाको प्राकृतिक सुरक्षा तह कमजोर हुन सक्छ जसले रातोपन, जलन, संवेदनशीलता र सुख्खापनजस्ता समस्या निम्त्याउन सक्छ।
फेस आइसिङ लोकप्रिय हुनुको मुख्य कारण यसको सजिलो हुनु र तत्काल देखिने प्रभाव हो। महँगो छाला हेरचाह सामग्रीको विकल्पको रूपमा धेरैले बरफको प्रयोग गर्न थालेका छन्। अनुहारमा बरफ लगाउँदा छालामा केही समय ताजापन महसुस हुन्छ। चिसोपनका कारण रक्तनलीहरू केही समयका लागि संकुचित हुन्छन् जसले अनुहारको सुन्निएको अवस्था कम भएको देखाउँछ। यसले छालामा केही समयका लागि कसिलो र चम्किलो देखिने प्रभाव दिन सक्छ। तर यसको प्रभाव स्थायी हुँदैन। बरफले छालाको वास्तविक बनावट परिवर्तन गर्दैन, केवल केहि समयका लागि ताजा र उज्यालो देखाउन सहयोग गर्छ।
धेरैले बरफलाई सिधै छालामा लगाउने गर्दछन्। तर विशेषज्ञहरूको सुझाव अनुसार यसो गर्नु सुरक्षित होइन। बरफ अत्यधिक चिसो भएकाले सिधै छालामा प्रयोग गर्दा ‘फ्रस्ट निप’ (चिसोपनबाट हुने चोट) हुन सक्छ जसले रातोपन, जलन र संवेदनशीलता बढाउन सक्छ। धेरै समयसम्म रगड गर्दा छालाका साना रक्तनलीहरूमा दबाब पर्ने सम्भावना हुन्छ र विशेषगरी संवेदनशील छाला भएका मान्छेमा समस्या बढ्न सक्छ। यदि फेस आइसिङ गर्न चाहनुहुन्छ भने बरफलाई सफा कपडा वा कपासमा बेरेर मात्र प्रयोग गर्नुपर्छ। लामो समय एकै ठाउँमा राख्नु वा दवाबले घस्नु हुँदैन।
अनुहारलाई बरफ मिसिएको पानीमा डुबाउने ‘आइस बाउल डिप’ पनि चर्चामा छ। यसले सुन्निएको अनुहारमा चिसोपन ल्याएर ताजापन फैलाउन सक्छ। तर धेरै चिसो पानीले छालालाई झट्का दिन सक्छ। विशेष गरी सुख्खा, संवेदनशील वा डन्डीफोर छालाका व्यक्तिहरूले यसलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्छ। धेरै बरफ नराख्नुहोस्, अनुहारलाई ५–१० सेकेन्डभन्दा बढी डुबाउनु हुँदैन र धेरै पटक दोहोर्याउनु पनि उचित हुँदैन। प्रयोगपछि moisturizing गर्न आवश्यक हुन्छ।






