Skip to main content

चेम्बर अध्यक्षले नवप्रवर्तन र अनुसन्धानमा लगानी वृद्धि गर्न आग्रह गरे

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ लैजान नवप्रवर्तन, अनुसन्धान तथा अत्याधुनिक प्रविधिमा लगानी बढाउनुपर्ने बताएका छन्। अध्यक्ष अग्रवालले कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स र ड्रोन प्रविधिजस्ता नवप्रवर्तनमार्फत युवा जनशक्ति र डिजिटल पहुँचलाई उत्पादनशील अर्थतन्त्रसँग जोड्न सके नेपाल दक्षिण एसियाकै महत्त्वपूर्ण केन्द्र बन्न सक्ने उल्लेख गरे।

अग्रवालले ‘इनोभेसन फेस्ट २०२६’ उद्घाटन कार्यक्रममा भने, “विश्व चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गरिसकेको छ।” उनले कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, बिग डाटा, इन्टरनेट अफ थिङ्स, ब्लकचेन, क्वान्टम कम्प्युटिङ तथा जैविक प्रविधिले विश्व अर्थतन्त्र र उद्योगको स्वरूप परिवर्तन गरिरहेको बताए। उनले प्राकृतिक स्रोत वा सस्तो श्रमशक्तिभन्दा ज्ञान, अनुसन्धान, नवप्रवर्तन र प्रविधि नै राष्ट्रको प्रतिस्पर्धात्मक क्षमताको मुख्य आधार भएको उल्लेख गरे।

अग्रवालले अनुसन्धानलाई प्रयोगशालामा मात्र सीमित नराखी उद्योग, बजार र समाजसँग जोड्न विश्वविद्यालय, निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्। उनले स्टार्टअप, इनक्युबेसन सेन्टर, एक्सेलेरेटर, भेन्चर क्यापिटल तथा बौद्धिक सम्पत्ति अधिकारको प्रभावकारी संरक्षणमार्फत नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताए।

अग्रवालले सरकारसँग राष्ट्रिय एआई नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, अनुसन्धान तथा विकासमा लगानी वृद्धि गर्ने, विश्वविद्यालय उद्योग सहकार्यलाई संस्थागत गर्ने, स्टार्टअपलाई कर तथा वित्तीय प्रोत्साहन उपलब्ध गराउने, डिजिटल पूर्वाधार, साइबर सुरक्षा र डाटा संरक्षण सुदृढ बनाउने, एआई, रोबोटिक्स, सेमिकन्डक्टर डिजाइन, डाटा साइन्स, साइबर सुरक्षा तथा हरित प्रविधिमा दक्ष जनशक्ति विकास गर्ने, महिला तथा सीमान्तकृत समुदायको प्रविधिमा पहुँच विस्तार गर्ने र बौद्धिक सम्पत्ति अधिकारको प्रभावकारी संरक्षण सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।