Skip to main content

नेपाल भलिबल लिगको अक्सनपछि टोलीहरूको संरचना

नेपाल भलिबल लिगको अक्सन काठमाडौँमा सम्पन्न भएको छ जसमा ६ वटा फ्रेन्चाइज टोलीले कुल ४२ खेलाडी अनुबन्ध गरेका छन्। अक्सनमार्फत क्याटगोरी ‘ए’ बाट २४ र क्याटगोरी ‘बी’ बाट १८ खेलाडी विभिन्न टोलीमा आबद्ध भएका छन्। प्रत्येक टोलीले थप तीन विदेशी खेलाडी र एक ट्यालेन्ट हन्टमार्फत नयाँ खेलाडी भित्र्याउने प्रावधान रहेको छ। १० साउन, काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) को अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको हो। केडिया ग्रुपको आयोजनामा पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग एनभीएलका लागि आइतबार अक्सन गरिएको हो। अक्सनबाट ६ वटा फ्रेन्चाइज टोलीले कुल ४२ खेलाडी टोलीमा अनुबन्ध गरेका छन्। १२७ खेलाडी अक्सनमा सहभागी भएकोमा क्याटगोरी ‘ए’ बाट २४ र क्याटगोरी ‘बी’ बाट १८ खेलाडी ६ टोलीमा अनुबन्ध भएका हुन्। अब प्रत्येक टोलीले ३ विदेशी खेलाडी र एक ट्यालेन्ट हन्टमार्फत खेलाडी भित्राउनेछन्। १४ खेलाडी अधिकतम मुल्यमा टोलीमा अनुबन्ध हुँदा सबै टोलीको बोली लाग्ने खेलाडी दुई जना बने। चिरञ्जीवी खड्का र सनोज चौधरीलाई सबै टोलीले अधितकम मुल्यमा अनुबन्ध गर्ने इच्छा जनाएका थिए। लक्की ‘ड्र’मार्फत चिरञ्जीवी काठमाडौं र सनोज कर्णालीमा पुगे। अन्नपूर्ण स्पाइकर किङ्स हिमाल सुनारी मार्की प्लेयर रहेको अन्नपूर्ण स्पाइकर किङ्सले दुई खेलाडीलाई लक्की ‘ड्र’ मार्फत अधितकम मूल्यमा टोलीमा अनुबन्ध गर्‍यो। राजेन्द्र धामी र सुरेन्द्र केसी एक लाख २० हजार रुपैयाँमा अन्नपूर्णमा अनुबन्ध भए। अन्नपूर्णले गण्डकीका रवि केसीलाई अक्सनमार्फत एक लाखमा अनुबन्ध गर्दा गण्डकीकै विश्वास अधिकारीलाई विशलिष्टमा समान मूल्यमा टोलीमा भित्र्यायो। क्याटेगोरी ‘बी’ बाट अन्नपूर्णले गण्डकीकै विवश आलेमगर र जितबहादुर सार्कीलाई ५० हजारमा टोलीमा अनुबन्ध गर्‍यो। विशलिष्टबाट देव राना मगर ५० हजारमा अन्नपूर्णमा भित्रिए। काठमाडौं रेड्स सुनिल बोहरा मार्की प्लेयर रहेको काठमाडौं रेड्स लक्की ‘ड्र’ मा भाग्यमानी बन्यो। काठमाडौंले क्याटगोरी ‘ए’ बाट तीन खेलाडीलाई लक्की ‘ड्र’ मार्फत भित्राउन सफल भयो। सबैले बोली लगाएका चिरञ्जिवी खड्का अधितकम मूल्य एक लाख २० हजारमा काठमाडौंमा भित्रिए। यस्तै सन्तोष विक र सन्तोष राई पनि अधिकतम मूल्यमै काठमाडौंमा आए। क्याटगोरी ‘बी’ बाट पुस्कर सिंह धामी र जितबहादुर ढुंगेल समान ७० हजारमा अनुबन्ध भए। काठमाडौंले विशलिष्टबाट बलदेव सिंह धामीलाई एक लाख र दीपेश कुँवरलाई ५० हजारमा टोलीमा अनुबन्ध गर्‍यो। मधेश वारियर्सले धनबहादुर भट्ट र सन्तोष महतालाई अधिकतम एक लाख २० हजारमा टोलीमा अनुबन्ध गर्‍यो। उनीहरु दुवै जना लक्की ‘ड्र’मार्फत मधेश पुगेका हुन्। मधेशले राजन दर्लामी र रामविजय यादवलाई समान एक लाख रुपैयाँमा टोलीमा भित्र्यायो। रविन रसाइली र सञ्जुविक्रम शाह समान ५० हजारमा मधेशमा अनुबन्ध हुँदा विप्सन शाही ठकुरी ७० हजारमा भित्रिए। मधेशका मार्की प्लेयर रविन नगरकोटी छन्। सगरमाथा स्म्यासर्स राष्ट्रिय टोलीका कप्तान हरिहजुर थापा मार्की रहेको सगरमाथा स्म्यासर्सले अक्सनमा क्याटोगरी ‘ए’ बाट पहिलो चरणमा सुवाश कुँवरलाई अधिकतम एक लाख २० हजारमा टोलीमा अनुबन्ध गर्‍यो। धेरै खेलाडीलाई बोली लगाएपनि सगरमाथा लक्की ‘ड्र’ मा भाग्यमानी बन्न सकेन। त्यसपछि भीम गाहा, रुपेन्द्र नेपाली र दीपकराज जोशीलाई न्यूनतम एक लाख रुपैयाँमा विशलिष्टमा टोलीमा भित्रायो। क्याटेगोरी ‘बी’ बाट सञ्जोक परियार, रेशम छन्त्याल र रमन बम समान ५० हजारमा सगरमाथामा अनुबन्ध भए। कर्णाली शिवराजले क्याटेगोरी ‘ए’ बाट ४ वटै खेलाडीलाई अधिकतम मूल्यमा खरिद गर्‍यो। पहल गहतराज मार्की रहेको कर्णालीले निर्पध्वज बस्नेत, विनोद चन्द, सुरज चनारा र सनोज चौधरीलाई टोलीमा भित्रायो। कर्णालीले सबै खेलाडी लक्की ‘ड्र’ मार्फत टोलीमा भित्र्याएको हो। क्याटेगोरी ‘बी’ बाट सन्दीप लाहोर र बलराम गुरुङ समान ५० हजारमा टोलीमा भित्रिँदा सुनिल थकुल्ला विसलिष्टमा ५० हजारमा कर्णालीमा आए। खप्तड फाल्कुन्स धिरज काजी बस्नेत मार्की प्लेयर रहेको खप्तड फाल्कुन्सले सरोज बर्देवा र प्रेमप्रसाद गौतमलाई अधिकतम एक लाख २० हजारमा टोलीमा अनुबन्ध गर्‍यो। यस्तै विवश थापा र विसलिष्टमार्फत इन्द्र विक समान एक लाखमा टोलीमा भित्रिए। क्याटेगोरी ‘बी’ बाट नवराज थापा मगर र नवराज धामी समान ५० हजार तथा पारस बोहरा ७० हजारमा खप्तडमा आए।