
सिभिल सहकारीका प्रतिनिधिलाई प्रवेशमा रोक, बचतकर्तामा अनिश्चितता
सिभिल सहकारीका ऋणी लालकाजी गुरुङले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा नियुक्त प्रतिनिधिहरूलाई सिभिल मलमा प्रवेश गर्न रोक लगाएका छन्। समितिद्वारा नियुक्त प्रतिनिधि विष्णुप्रसाद घिमिरेले सिभिल मलको कार्यालयमा ताला लागेपछि काम गर्न नसकेको बताएका छन्। सर्वोच्च अदालतले सिभिल मलको सम्पत्ति तथा दायित्व यथास्थितिमा राख्न अन्तरिम आदेश दिएपछि बचतकर्ता र व्यवस्थापन समिति थप अनिश्चिततामा छन्। ११ साउन, काठमाडौं।
सिभिल सहकारीका ऋणीहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट नियुक्त प्रतिनिधिलाई लगानी असुली प्रक्रियामा अवरोध गरेका छन्। सिभिल मल सञ्चालक तथा सिभिल सहकारीका ऋणी लालकाजी गुरुङले समितिद्वारा नियुक्त प्रतिनिधिहरूलाई मल प्रवेशमा रोक लगाएका छन्। सिभिल बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त भएपछि सम्पत्ति र दायित्व व्यवस्थापनको जिम्मेवारी समितिलाई दिइएको थियो। ऋणीहरूले कर्जा नतिरेपछि ऋणीका आफन्तबाट समेत असुली गर्ने गरी सरकारले सहकारी ऐनमा संशोधन गरेर समितिलाई अधिकार दिएको थियो।
तर, सिभिल सहकारीका ऋणी लालकाजी गुरुङले सिभिल मलको कार्यालयमा ताला लगाएर समितिद्वारा नियुक्त प्रतिनिधिहरूको प्रवेशमा रोक लगाएका छन्। समितिले सहकारीको ५० प्रतिशत सेयर स्वामित्व राख्ने सिभिल मलमा दुई जना सञ्चालक नियुक्त गरेको थियो। समितिका नियुक्तिपत्रसहित कार्यालय पुगेका प्रतिनिधि विष्णुप्रसाद घिमिरेले कार्यालय बन्द भएको र ताला लागेकोले काम गर्न नसकेको बताएका छन्। ‘समितिले मलाई र एषणाध्वज खड्कालाई सिभिल मलको सञ्चालकमा नियुक्त गर्यो,’ घिमिरेले भने, ‘जाने बित्तिकै अन्य सेयरधनीले कार्यालय बन्द गरेका थिए।’