
पारा तेक्वान्दो खेलाडी रेनु तामाङले जापानको आइची नागोयामा अक्टोबर १८ देखि २४ सम्म आयोजना हुन लागेको पाँचौं एसियाली पारा खेलकुदमा सहभागिता जनाउने भएकी छन्। नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले रेनुले वाइल्ड कार्डमार्फत सो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जानकारी दिएका छन्। यसअघि पलेशा गोवर्धन वरीयताका आधारमा छनोट भइसकेकी छिन्, जसले नेपालबाट पारा तेक्वान्दोमा सहभागिता पक्का गराएकी हुन्।
रेनु हाल विश्व वरीयतामा २६औं र एसियाली वरीयतामा १३औं स्थानमा छिन्। उनी पारा तेक्वान्दो प्रशिक्षक पनि हुन्। रेनुले २०८२ मंसिर २१ देखि २८ गतेसम्म दुबईमा भएको एसियन युथ गेम्समा के–४४ क्याटागोरीअन्तर्गत महिला ४७ केजी मुनि कास्य पदक जितेकी थिइन्। रेनु मलेसियामा भएका १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप–२०२५ र मंगोलियामा भएका ११ औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा पनि सहभागी भइसकेकी छिन्।
कार्तिक १ देखि ७ गतेसम्म जापानमा आयोजना हुन लागेको एसियाली पारा खेलकुदको पारा तेक्वान्दोमा यसअघि दुई खेलाडीको सहभागिता पक्का भइसकेको छ। पलेशा गोवर्धनले पनि वरीयताका आधारमा छनोट भइसकेकी छिन्। पेरिस पारालम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशाले चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य पदक जितेकी थिइन्। नेपाली खेलाडीले पहिलो संस्करणदेखि नै एसियाली पारा खेलकुदमा नियमित रूपमा भाग लिइरहेका छन्।






