Skip to main content

पोखरा एभेन्जर्सले शाकिब अल हसनलाई एनपीएल तेस्रो सिजनका लागि अनुबन्ध गर्‍यो

पोखरा एभेन्जर्सले सोमबार बंगलादेशी अलराउन्डर शाकिब अल हसनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि अनुबन्ध गरेको घोषणा गरेको छ। टोलीले विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डर शाकिबको सहभागीले आफ्नो मेचलाई अझ सशक्त र प्रतिस्पर्धात्मक बनाउने विश्वास व्यक्त गरेको छ। महाप्रबन्धक अमित लोहानीले भने, “शाकिब अल हसनजस्ता विश्वस्तरीय खेलाडीलाई पोखरा एभेन्जर्स परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं।”

११ साउन, काठमाडौं। शाकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्। ४० वर्षका शाकिबसँग विश्वका ३० भन्दा बढी फ्रेन्चाइज टिमसंग खेल्ने अनुभव छ। उनले १२९ टी२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ५५१ रन बनाएका छन् र १४९ विकेट पनि लिएका छन्। त्यस्तै, सबै प्रकारका टी२० खेलहरूमा उनले ४७८ म्याच खेल्दै ७ हजार ८५३ रन र ५१५ विकेटहरू लिएर आफ्नो प्रभावशाली करियर बनाएका छन्।

पोखरा एभेन्जर्सले उपाधि जित्ने लक्ष्यलाई मजबुत बनाउँदै शाकिबको अनुबन्धले नेपाली क्रिकेट समर्थकहरूलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीको खेल प्रत्यक्ष हेर्ने अवसर प्रदान गर्ने प्रतिबद्धतालाई पनि सुदृढ बनाएको छ। लोहानीले थपे, “उनको आगमनले हाम्रो टोलीलाई अझ प्रतिस्पर्धी बनाउने छ र नेपाल प्रिमियर लिगको आकर्षण नयाँ उचाइमा पुर्याउने विश्वास छ।” एनपीएल सिजन ३ का लागि पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित अन्य खेलाडीहरूलाई पनि रिटेन गरेको छ।