
सीमान्त आवाज र पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातवटा नयाँ बालकथा पुस्तकहरू सार्वजनिक गरिएको छ। काठमाडौंमा, बालकथामार्फत सिमान्त समुदायका आवाज र पहुँचलाई वृद्धि गर्ने उद्देश्यले लेखिएका यी सात बालकथा पुस्तक आईतबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो। शिक्षाविद् केदारभक्त माथेमा, अग्रज बाल साहित्यकार गंगा कर्माचार्य, कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति केके कर्माचार्य, बाल साहित्यकार तथा समीक्षक प्रमोद प्रधान, अधिकारकर्मी गौरी नेपाली लगायत पुस्तकका लेखकहरूले पुस्तक विमोचन गरे।
सार्वजनिक भएका बालकथाका पुस्तकहरूमा सुशीला तामाङको ‘आइतीको बिहे’, बिना थिङको ‘नामको कथा’, हंसावती कुर्मीको ‘इन्द्रेणी’, शान्ति सापकोटाको ‘मितिनी’, संजोग ठकुरीको ‘ममीघर’, अस्मिता वादीको ‘हैतमाको हिम्मत’ र संगीता उराँवको ‘सुर्जीको उज्यालो’ समावेश छ। यी कथाहरू पत्रकार सुशीला तामाङको संयोजनमा सञ्चालन भएको ब्रिटिस काउन्सिलको लैङ्गिकता सम्बन्धी कला कार्यक्रम ‘जेन्डर आर्टस् : इक्वेल टुगेदर २०२५’ अन्तर्गत ‘अपराजिता कथा परियोजनामा’ प्रकाशन भएका हुन्। उक्त परियोजनामा बाल वाङ्गमय तथा अनुसन्धान केन्द्र र हामी दाजुभाइ संस्थाहरूले समेत सहकार्य गरेका छन्।
पुस्तकमा चित्रकारहरू रवीन्द्र मानन्धर, अनामिका गौतम र प्रज्वल थापामगरले चित्र सिर्जना गरेका छन्। बाल साहित्यमार्फत बालिका सशक्तिकरण, लैङ्गिक समानता, विकास र समाजमा विद्यमान छोराछोरीबीचको विभेद, जातीय, वर्गीय तथा सांस्कृतिक विभेदलाई कम गर्ने उद्देश्य यस परियोजनाको मुख्य लक्ष्य रहेको छ। कथाहरूमा सीमान्तकृत समुदायका सांस्कृतिक तथा सामाजिक जीवनका पक्ष, अनुभव र अभ्यासहरू समेटिएका छन्। कार्यक्रममा शिक्षाविद् माथेमा लामा वाक्यका पुस्तकहरू बालबालिकालाई पढाएर बौद्धिक क्षमता विकासमा सहयोग पुर्याउनुपर्नेमा जोड दिए।
पठनशीलताले ज्ञानको क्षितिज फराकिलो बनाउने भएकाले बालबालिकालाई त्यसतर्फ अग्रसर गराउनुपर्ने माथेमाको भनाइ थियो। सातवटै कथाहरूको समीक्षा गर्दै अभियन्ता गौरी नेपालीले परमपरागत लेखन शैलाभन्दा फरक रूपमा नैतिकता र आदर्श बाल कथाहरू सिर्जना भई समाजको वास्तविक चित्र कथाहरूमा प्रस्तुत गरिएको बताइन्। यी कथाहरू उच्च व्यक्तिहरूको कथा नभई धेरैलाई आफ्नै कथाजस्तो लाग्ने भएकाले नेपालीहरूले मन पराउने अभिव्यक्ति गरे। पुस्तकमा व्यक्त धारणा राख्दै बाल साहित्यकार प्रमोद प्रधान, गंगा कर्माचार्य, प्रा.डा. तारानिधि भट्टराई, ब्रिटिस काउन्सिलको ‘जेन्डर आर्टस् : इक्वेल टुगेदर २०२५’ निर्देशक युक्ता बज्राचार्य, लेखक बिना थिङ र चित्रकार अनामिका गौतम लगायतले पुस्तकहरूले बाल साहित्यको क्षेत्रमा सकारात्मक प्रभाव पर्न सक्ने बताए।






