Skip to main content

नेपालले नामिबिया विरुद्ध २१२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थाल्यो

आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गरेको छ। नेदरल्यान्ड्सको उट्रेचमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनाएको थियो। विश्वकप छनोटको सम्भावना कायम राख्न नेपाल यस शृङ्खलामा पहिलो जित निकाल्ने दबाबमा छ।

११ साउन, काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबिया विरुद्ध भइरहेको खेलमा नेपालले २१२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको छ। नेदरल्यान्ड्सको उट्रेचमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनाएको थियो। नामिबियाका लागि जान फ्रायलिंकले शतक प्रहार गरे। १४९ बलमा ३ चौका प्रहार गर्दै १०० रन बनाएपछि उनी रनआउट भएका थिए। लाउरेन स्टिनकाम्पले ८७ बल खेल्दै ४ चौका र १ छक्का मदतमा ५९ रन योगदान गरे। दोस्रो विकेटका लागि फ्रायलिंक र स्टिनकाम्पले १३१ रनको साझेदारी गरे।

नेपालका लागि मिडियम पेसर करण केसीले शानदार बलिङ गर्दै ५ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दै २९ रन मात्र खर्चेर आफ्नो ओडिआई करियरमा चौथो पटक ५ विकेट लिएका हुन्। साथै करण यसै खेलमार्फत नेपालका लागि ओडिआईमा १०० विकेट लिने दोस्रो खेलाडी समेत बने। सोमपाल कामीले १ विकेट लिए। यसअघिको दुवै खेलमा पराजित भएको नेपाल लिग २ को यस शृंखलामा पहिलो जितको खोजीमा छ। शीर्ष चारमा रहँदै ओडिआई विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कायम राख्न पनि नेपालका लागि अब हरेक खेल जित्नैपर्ने अवस्था छ। यस शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो।