
युवा लेखक शिवराज शाहीको पहिलो कथासङ्ग्रह ‘एक मान्ठ एक देवता’ काठमाडौंमा एक विशेष कार्यक्रममा लोकार्पण गरिएको छ। ११ साउन, काठमाडौं। साहित्यकार नयनराज पाण्डे, पूर्वमन्त्री तथा लेखक माधव चौलागाईं, अभिनेत्री सुरक्षा पन्त र कथाकार शिवराज शाहीले संयुक्त रूपमा उक्त पुस्तकको लोकार्पण गरेका थिए।
पुस्तकप्रति टिप्पणी गर्दै साहित्यकार नयनराज पाण्डेले नयाँ पुस्ताका लेखकका कृतिहरूमा कर्णालीको विषयवस्तु गहिरो रूपमा समेटिएको बताएका छन्। उनले वर्तमान लेखकहरूका उत्कृष्ट र न्यून गुणहरूको विश्लेषण गर्दै लेखक शिवराजमा ‘शिवराज-क’ र ‘शिवराज-ख’ दुई प्रकारका पक्षहरू रहेको उल्लेख गरेका थिए। उनले भने, ‘शिवराज-क’ का कथाहरू उत्कृष्ट छन् भने ‘शिवराज-ख’ का कथाहरू अलिक अलग किसिमका छन्। वास्तविकत: शाही ‘शिवराज-क’ नै हुन्। यो पुस्तक अत्यन्तै उत्कृष्ट छ।
लेखक तथा पूर्वमन्त्री माधव चौलागाईंले पुस्तकमा कर्णालीका कथाहरू र वेदनाहरू समेटिएको बताए। ‘कथाले केवल कर्णालीकै समाजलाई मात्रै होइन, जीवनका साना–ठूला वस्तुहरूलाई पनि प्रस्तुत गरेको छ। यो कर्णालीको एउटा सामाजिक विज्ञान सम्बन्धी ऐना हो’ उनले बताए। अभिनेत्री सुरक्षा पन्तले पुस्तकका ११ वटा कथामा चलचित्र निर्माण गर्न सकिने कुरा बताइन्। उनले भनिन्, ‘यो पुस्तक पढेपछि हरेक मान्ठभित्र एउटा देवता हुन्छ भन्ने बुझें। प्रत्येक कथामा जीवनका सम्बन्धहरू समेटिएका छन्। सबै कथाहरू कालजयी चलचित्रहरूजस्तै छन्।’
लेखक शिवराज शाहीले आफ्नो कथाहरूमा कर्णालीकी आमा र दिदीबहिनीहरूको आवाज समेट्दै लेखिएको बताएका छन्। उनी जाजा रकोटका शिवराज शाही हुन् र बाह्रखरी कथा प्रतियोगिता २०८२ तथा चक्रमणी चालिसे कथा प्रतियोगिता २०८१ का विजेता समेत हुन्। ‘एक मान्ठ एक देवता’ उनको पहिलो कथासङ्ग्रह हो। कथाहरू अनुसारको चित्र र विषयलाई ध्यानमा राखी रंगीन फन्टमा मुद्रण गरिएको यस कथासङ्ग्रहलाई बुकहिलले प्रकाशन गरेको छ।






