Skip to main content

पाँचथरमा बाढी र पहिरोबाट ५ वर्षमा ४८ जनाको मृत्यु, ९ जना अझै बेपत्ता

पाँचथरमा वर्षासँगै आएको बाढी र पहिरोले फालेलुङ र याङवरक गाउँपालिकामा चार परिवार विस्थापित भएका छन् भने पुरै बस्ती जोखिममा परेको छ। पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले भन्नुभयो, ‘विस्थापित परिवारलाई विद्यालयमा सुरक्षित राखिएको छ र थुप्रै स्थानमा जमिन भासिएको छ।’ जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा बाढी र पहिरोका कारण ४८ जनाले ज्यान गुमाएका छन् भने ८८९ परिवार प्रभावित भएका छन्। १२ साउन, पाँचथर।

पूर्वी पहाडी जिल्ला पाँचथरमा वर्षा लागेसँगै बाढी र पहिरोको जोखिम दोहोरिएको छ। वर्षा ढाँचा परिवर्तन भइरहेकाले मानवीय क्षतिको साथै सडक, पुल, खेतीयोग्य जमिन र पशुपालन पनि ठूलो असरमा परेको छ। यस वर्ष पनि फालेलुङ र याङवरक गाउँपालिकाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। फालेलुङ गाउँपालिका–५ लुङ्मादिनमा गएको पहिरोका कारण चार परिवार विस्थापित भएका छन् भने पुरै बस्ती जोखिममा परेको स्थानीयहरू बताउँछन्।

पाँच वर्षमा ४८ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्यांकअनुसार पछिल्ला पाँच आर्थिक वर्षमा बाढी–पहिरोले ४८ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्। सबैभन्दा ठूलो क्षति आर्थिक वर्ष २०७८/७९ मा परेको थियो, जुन वर्ष मात्र ३५ जनाको मृत्यु भएको थियो। विशेषगरी मिक्लाजुङ गाउँपालिका सबैभन्दा बढी प्रभावित थियो। सोही वर्ष तीन परिवार विस्थापित भएका थिए भने १५ जना घाइते भएका थिए।

मानवीय क्षतिसँगै पाँच वर्षमा ८८९ परिवार बाढी–पहिरोबाट प्रभावित भएका छन्। तीमध्ये ३७६ परिवार विस्थापित भएका छन्। बारम्बार सडक र पुल बग्दा खेती र पशुपालनमा समेत बाढी–पहिरोले ठूलो असर पुर्‍याइरहेका छन्। कृषि ज्ञान केन्द्र पाँचथरका सूचना अधिकारी केशरबहादुर मरातीका अनुसार पछिल्ला वर्षहरूमा विशेषगरी खेतबारी र अलैँची खेतीमा बढी क्षति पुगेको छ।