
मङ्गलवार दिउँसो १२ बजेतिर काठमाण्डू महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीचिङ् अस्पताल) पुग्दा उक्त परिसरमा सिराहाबाट आएकी शोभादेवी चौधरी हताश र अन्योल अवस्थामा भेटिइन्। हाडजोर्नी र मिर्गौलाको समस्याबाट पीडित उनी बिहान सातै बजे अस्पताल आइपुगेकी रहिछन्। “यहाँ बन्द छ भनेर थाहा थिएन। आज मिर्गौलाको जाँच भनेको थियो। घण्टौँदेखि पर्खिएर बसिरहेकी छु। टाढाबाट आउनुपर्छ। गाडी भाडा लाग्छ। हरेक पटक खर्च हुन्छ। अब कहिले खुल्ने हो त्यो पनि थाहा छैन,” चौधरीले भनिन्।
सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङलाई पनि मिर्गौलाको समस्या रहेछ। अस्पताल परिसरमा हातमा रिपोर्टका झोला बोकेका उनी एक्लै हिँडिरहेका थिए। “आठ-दश दिनदेखि धाइरहेको छु। आज बन्द भन्ने थाहा भएन। ‘भिडिओ एक्सरे’ गर्ने भनेको थियो। त्यसैले यतिखेरसम्म म भोकै छु। एकदम दु:ख पाइयो,” ६० वर्षका तामाङले भने। सप्तरीकी दरोबती चौधरी रगत परीक्षणका रिपोर्टहरू बोकेर चिकित्सकको पर्खाइमा थिइन्। “पहिले नै थाहा भएको भए आउने थिइनँ। अहिले यहाँसम्म आइपुगेर फर्किनुपरेको छ। अब भोलिपर्सि के हुन्छ पनि थाहा छैन,” उनले भनिन्।
चिकित्सकहरूको हडताल किन भने केही दिनअघि वीरगन्जस्थित नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कारबाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मङ्गलवार देशैभरि अस्पतालहरूमा आकस्मिकबाहेकका सेवा बन्द गरेका हुन्। चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले सोमवार विज्ञप्ति जारी गर्दै बन्दको घोषणा गरेको थियो। “यो हाम्रो रहर होइन बाध्यता हो। हाम्रो कुराको सुनुवाइ नभएपछि यसरी आकस्मिकबाहेकका सेवा बन्द गर्नुपरेको हो,” टीचिङ अस्पतालका डाक्टर तथा संघका वरिष्ठ उपाध्यक्ष सञ्जीव तिवारीले भने।
उपचारका लागि काठमाण्डू आएका बिरामी नारायणी अस्पतालमा कुटपिट गरिएका चिकित्सकलाई अहिले थप उपचारका लागि काठमाण्डू ल्याइएको संघले जनाएको छ। सो घटनापछि शनिवारदेखि नै उक्त अस्पतालमा उपचार सेवा ठप्प पारेर हडताल गर्न थालेका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। त्यहाँ कार्यरत ७० भन्दा बढी चिकित्सकमध्ये ६५ जनाले सामूहिक राजीनामा दिएको अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहले बताएका छन्।






