नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५५ भन्दा बढी अटो ब्रान्डहरुको सहभागिता

साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ आयोजना हुँदैछ। एक्स्पोमा ५५ भन्दा बढी अटोमोबाइल ब्रान्डहरूले सहभागिता जनाउनेछन् र ४० भन्दा बढी नयाँ सवारीसाधनका मोडेलहरू सार्वजनिक गरिने तयारी छ। आयोजक नाइमाका अनुसार यसपटकको एक्स्पोमा अटोमोबाइल क्षेत्रका विशेषज्ञहरूबीच विभिन्न प्राविधिक विषयमा नि:शुल्क सिकाइ सत्रहरू सञ्चालन गरिनेछन्।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजना गरिएको यो एक्स्पो देशकै सबैभन्दा ठूलो अटो एक्स्पो मानिन्छ र अहिले तयारीको अन्तिम चरणमा पुगेको छ। एक्स्पोमा आउने अवलोकनकर्ताले १०० देखि २०० रुपैयाँ शुल्क तिरेर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। एक्स्पोका सदस्य तथा शारदा ग्रुपका निर्देशक गौरव शारदासँग एक्स्पो तयारी र व्यवस्थापनका बारेमा गरिएको कुराकानीमा उनले भने, “हाम्रा तयारीहरू लगभग पूरा भइसकेका छन् र अब कार्यान्वयन मात्र बाँकी छ।”
यसपटक एक्स्पोको ६ दिन नेपाल पुलिस क्लबको ‘ब्लु प्याभिलियन’ मा सिकाइ सत्रहरू राखिनेछन् जहाँ अटोमोबाइल र मोबिलिटी क्षेत्रका अन्तर्राष्ट्रिय तथा स्थानीय विज्ञ, इन्फ्लुएन्सर र सरोकारवालाबीच विभिन्न विषयमा छलफल हुनेछ। सडक सुरक्षा, कौशल विकास, ब्याट्री व्यवस्थापन र इथानोल ब्लेन्डिङजस्ता विषयमा नि:शुल्क टक शोहरू पनि आयोजना गरिनेछन्।
यस पटक ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनेछन् र ४० भन्दा बढी नयाँ मोडेलहरू लन्च गरिनेछन्। सबै ब्रान्डहरूले ग्राहकलाई आकर्षित गर्न विशेष अफरहरू ल्याउनेछन्। एक्स्पोको प्रमुख उद्देश्य भनेको ग्राहक र कम्पनीलाई एउटै स्थानमा ल्याउनु हो। यस एक्स्पोमा आउने दर्शक र खरिद योजना बनाउने उपभोक्तालाई यो इतिहासकै सबैभन्दा ठूलो अटो शोको रूपमा स्वागत गरिएको छ।






