Skip to main content

प्रवासमा रहेका ३ लाखभन्दा बढी विज्ञलाई राष्ट्रिय विकाससँग जोड्न आयोग र एनआरएनबीच छलफल

गैरआवासीय नेपाली संघले राष्ट्रिय योजना आयोगसँग सहकार्यमा चौथो विश्व नेपाली ज्ञान सम्मेलन-२०२७ आयोजना गरी नेपालको विकासमा योगदान दिने लक्ष्य राखेको छ। एनआरएनएको उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले ज्ञान र प्रविधि हस्तान्तरणलाई नीतिगत प्रक्रियासँग जोड्दै यसपटकको सम्मेलन समाधानमुखी मोडेलमा आधारित हुने जानकारी दिए। योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले पूर्वाधार विकास, शिक्षा र डिजिटलीकरणमा एनआरएनसँग सहकार्य गर्न आयोग प्रतिबद्ध रहेको बताए। १२ साउन, काठमाडौं।

गैरआवासीय नेपाली संघ (एनआरएनए) र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टबीच छलफल भएको छ। चौथो विश्व नेपाली ज्ञान सम्मेलन-२०२७ को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सिप, प्रविधि, नवप्रवर्तन तथा लगानीमार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको एनआरएनएले जनाएको छ। भेटका क्रममा एनआरएनएको उपाध्यक्ष तथा सिप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले सन् २०१८ देखि सञ्चालन हुँदै आएको नेटवर्किङ फर डेभलपमेन्ट अवधारणालाई यसपटक केवल मुद्दामुखी छलफलमा सीमित नराखी समाधानमुखी मोडेलमा रूपान्तरण गरिएको जानकारी दिए।

डा. रेग्मीले चौथो विश्व नेपाली ज्ञान सम्मेलन-२०२७ मा ६ वटा विषयगत क्षेत्रमा केन्द्रित हुने र ती क्षेत्र योजना आयोगका प्राथमिकतासँग प्रत्यक्ष मेल खाने बताए। सम्मेलनमार्फत विश्वभर रहेका ३ लाखभन्दा बढी नेपाली विज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक, प्राविधिक, उद्यमी तथा विभिन्न पेसागत क्षेत्रमा कार्यरत विशेषज्ञ र नेपालका नीतिनिर्माता, सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था तथा निजी क्षेत्रलाई एउटै साझा मञ्चमा ल्याएर ज्ञान, सिप, प्रविधि, अनुसन्धान तथा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालको विकाससँग जोड्ने लक्ष्य रहेको उनले बताए।

एनआरएनएको उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समिति संयोजक रोजिना प्रधान राईले विश्वभर रहेका नेपाली विज्ञसँगै दोस्रो पुस्ताका नेपाली मूलका दक्ष तथा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका युवालाई पनि नेपालको विकाससँग जोड्न आवश्यक रहेको जनाइन। उनले गैरआवासीय नेपाली विकास कोष, गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा गैरआवासीय नेपाली ऐन संशोधन विषयलाई शीघ्र टुंगोमा पुर्‍याउनु आवश्यक रहेको बताएका छन्। एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले गैरआवासीय नेपाली विकास कोष सञ्चालनका लागि आवश्यक तयारी भइरहेको हुँदा विश्वभर रहेका साना र ठूला गैरआवासीय नेपाली लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यबाट कोष सञ्चालनमा ल्याउन पहल भइरहेको जानकारी दिए।

एनआरएनएको उपमहासचिव कृष्ण पोखरेलले गैरआवासीय नेपालीको लगानी तथा लगानीबाट प्राप्त प्रतिफल स्वदेश फिर्ता लैजाने प्रक्रियामा रहेका नीतिगत तथा व्यवहारिक कठिनाइबारे आयोगलाई जानकारी गराए। प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आयोग एनआरएनसँग सहकार्य गर्न सधैं सकारात्मक रहेको बताए। उनले गैरवित्तीय क्षेत्रको डिजिटलीकरण, उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, उपत्यका बाहिर सुरुङमार्ग, यातायात तथा अन्य पूर्वाधार विकास क्षेत्रहरूमा पनि सहकार्य गर्न सकिने धारणा व्यक्त गर्दै विश्व ज्ञान सम्मेलनका लागि आयोगले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले संघको युरोप क्षेत्रीय सम्मेलन तथा एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा रहेको जानकारी गराए।