विश्व बाघ दिवस: नेपालमा पाटेबाघको सङ्ख्या ४२९ पुगेको घोषणा, गणनाको विस्तृत प्रक्रिया

नेपालमा पाटेबाघको सङ्ख्या ४२९ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको छ। विश्व बाघ दिवसको अवसरमा हालै सम्पन्न बाघ गणनाको नतिजा बुधबार सार्वजनिक गरिएको हो। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले उक्त नतिजा सार्वजनिक गरेकी हुन्। सन् २००९ देखि नेपालमा प्रत्येक चार वर्षमा नियमित रूपमा बाघ गणना हुँदै आएको छ। यसअघि सन् २०२१ मा सम्पन्न त्यस गणनाले नेपालभर ३५५ वटा बाघ प्राकृतिक वासस्थानमा रहेको रिपोर्ट गरेको थियो। तीमध्ये चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, शुक्लाफाँटामा ३६ र पर्सामा ४१ बाघ थिए।
अहिले सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा देखिएका छन् जहाँ १४५ वटा बाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज र वरपरका वन क्षेत्रमा ११२ वटा बाघ गणना गरिएको छ। पर्सा राष्ट्रिय निकुञ्ज र वरपरका वन क्षेत्रमा ७१, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा क्रमशः ५१ र ५० बाघ भेटिएका छन्।
पछिल्लो राष्ट्रिय बाघ सर्वेक्षण २०८२ पुस १ गतेबाट सुरु भई २०८३ वैशाख १० गते सम्पन्न भएको थियो। नेपालका पाँचवटा प्रमुख बाघ पाइने निकुञ्ज र वरपरका वन क्षेत्रमा क्यामरा ट्र्यापिङ प्रविधिको प्रयोग गरी बाघ गणना गरिएको विभागले जनाएको छ। यो अभियानमा बाघका वासस्थानलाई तीनवटा ‘कम्प्लेक्स’मा विभाजन गरिएको थियो — चितवन-पर्सा कम्प्लेक्स, बाँके-बर्दिया कम्प्लेक्स, र शुक्लाफाँटा-लालझाडी कम्प्लेक्स।
गणनाका लागि नेपाल सरकार र विभिन्न दातृ निकायहरूले सहकार्य गरेका थिए। विश्लेषणका आधारमा नेपालमा बाघको कुल सङ्ख्या ४०२ देखि ५०० सम्म हुन सक्ने अनुमान गरिएको छ। उपमहानिर्देशक तथा प्रवक्ता वेदकुमार ढकालद्वारा जारी विभागीय विज्ञप्तिमा उल्लेख छ, “यो नतिजाले नेपालमा बाघ संरक्षणका क्षेत्रमा विगतदेखि भइरहेको वासस्थान संरक्षण र व्यवस्थापन, चोरीसिकार नियन्त्रण, आहारा प्रजातिको संरक्षण तथा जैविक मार्ग संरक्षणजस्ता प्रयासहरूको सकारात्मक परिणामलाई प्रतिबिम्बित गर्छ।”






