
भारतका विभिन्न विद्यालयहरूमा गरिएको अध्ययनले प्रत्येक पाँच किशोरकिशोरीमध्ये एकजनालाई लागुपदार्थ प्रयोगको मध्यम वा उच्च जोखिममा रहेको देखाएको छ। विद्यालय र कलेजमा अध्ययनरत किशोरकिशोरीहरूमा लागुपदार्थ लतको समस्या व्यापक रूपमा देखिएको छ। छिमेकी देश भारतमा गरिएको एक अध्ययनले स्कूली किशोरकिशोरीहरूमा यो लत तीव्र रूपमा बढ्दै गएको पुष्टि गरेको छ। २०२५–२०२६ मा सम्पन्न सर्वेक्षणको रिपोर्ट ‘द ल्यान्सेट रिजनल हेल्थ—साउथईस्ट–एशिया’मा प्रकाशित गरिएको छ। अध्ययनले किशोरकिशोरीहरूलाई लागुपदार्थ प्रयोगको सबैभन्दा उच्च जोखिममा रहेको निष्कर्ष प्रस्तुत गरेको छ।
भारतका विभिन्न जिल्लामा रहेका १०८ निजी तथा सरकारी विद्यालयहरूमा कुल ६ हजार १६८ जना किशोरकिशोरीहरूलाई सर्वेक्षण गरिएको रिपोर्टमा उल्लेख छ। अनुसन्धानकर्ताहरूले विश्व स्वास्थ्य संगठनको स्क्रिनिङ विधि प्रयोग गरिएको बताएका छन्। यस सर्वेक्षणले प्रत्येक पाँचमध्ये एक किशोरकिशोरीलाई लागुपदार्थ प्रयोगको मध्यमदेखि उच्च जोखिममा रहेको प्रमाणित गरेको छ। विशेष गरी धुम्रपान, मदिरा तथा अन्य लागुऔषध प्रयोगकर्ताको स्क्रिनिङ गरिएको थियो। सर्वेक्षणमा गोरखपुर (उत्तर प्रदेश), कामरूप (असम), नागपुर (महाराष्ट्र), राजकोट, झारखण्ड र पुडुचेरीका सरकारी तथा निजी विद्यालयहरू समावेश थिए। रिपोर्ट अनुसार २१.४ प्रतिशत किशोरकिशोरीहरूलाई लागुपदार्थ प्रयोगको मध्यम वा उच्च जोखिममा रहेको पाइएको छ, जसमा १०.३ प्रतिशत मध्यम जोखिममा र ११.१ प्रतिशत उच्च जोखिममा रहेका छन्। विशेष गरी गुवाहाटी र देवघरका विद्यालयहरूमा उच्च जोखिम भएका किशोरकिशोरीहरूको अनुपात बढी देखिएको छ भने नागपुर र पुडुचेरीमा जोखिमको अनुपात कम पाइयो।
अध्ययनले किशोरकिशोरीहरूलाई लागुपदार्थ प्रयोगको जोखिममा पुर्याउने प्रमुख कारक डिजिटल एक्सपोजर रहेको जनाएको छ। प्रविधिको प्रयोग बढ्दै गएसँगै यसले लतमा पर्ने सम्भावना वृद्धि गरेको छ। बच्चाहरू इन्टरनेटको दुनियाँमा जति बढी समय बिताउँछन्, तिनीहरूको खराब संगति र लतमा पर्ने जोखिम त्यति नै उच्च हुने अध्ययनकर्ताहरूको दाबी छ। अर्को मुख्य कारण भनेको लागुपदार्थ सजिलै उपलब्ध हुनु रहेको सर्वेक्षणले देखाएको छ। साथै, किशोरकिशोरीहरूले लागुपदार्थप्रतिको सकारात्मक दृष्टिकोण राख्नु पनि जोखिम बढाउने अर्को तत्त्व मानिएको छ। अन्य महत्वपूर्ण पक्षहरूमा विद्यालयको वातावरण, सामाजिक तथा आर्थिक अवस्था र व्यक्तिगत स्वभाव जस्ता कारकहरूले पनि किशोरकिशोरीहरूलाई लागुपदार्थ तर्फ तान्ने भूमिका खेलेको रिपोर्टमा उल्लेख गरिएको छ। रोकथामका लागि बहु-स्तरीय हस्तक्षेप आवश्यक रहेको बताइएको छ। समुदायमा आधारित हस्तक्षेप र किशोरकिशोरीकै साथीहरूको नेतृत्वमा हुने कार्यहरूले यस समस्यालाई कम गर्न सक्ने सुझाव अध्ययनमा दिइएको छ।






