
सुनसरी जिल्लामा घटेको घटनापछि सामाजिक सञ्जालमा फैलिएका अफवाह र द्वेषपूर्ण अभिव्यक्तिहरूलाई लिएर जिल्ला प्रशासन कार्यालय सिरहाले गम्भीर चासो व्यक्त गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सामाजिक सद्भावलाई बाधा पुर्याउने कार्य नगर्न र भ्रामक सूचनाको पछि नलाग्न सबैलाई सचेत गराएका छन्। धार्मिक वा सामाजिक सद्भावमा बाधा पुर्याउने व्यक्तिहरूलाई कानुनी दायरामा कडा कारबाही गरिने प्रशासनको चेतावनी छ।
१३ साउन, सिरहा। सुनसरी जिल्लामा भएको घटनापछि धार्मिक तथा साम्प्रदायिक सद्भाव विरुद्ध सामाजिक सञ्जालमा भ्रामक सूचना, अफवाह र द्वेषपूर्ण अभिव्यक्तिहरू फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले सबै नागरिकलाई संयमित हुन आग्रह गरेको छ। बुधबार सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सूचना जारी गर्दै पुराना घटनाहरूलाई हालसालको घटनासँग जोडी भ्रम सिर्जना गर्ने, कुनै धर्म, समुदाय, संस्कृति वा आस्थाप्रति घृणा फैलाउने गतिविधिबाट टाढा रहन अनुरोध गरेका छन्।
प्रशासनले सिरहामा विभिन्न जातजाति, भाषा, धर्म र समुदायबीच कायम रहेको आपसी एकता, सद्भाव, सहिष्णुता र भाइचारालाई बचाउनु सबै नागरिकको साझा दायित्व भएको जनाएको छ। धार्मिक गुरुहरू, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी र सबै सरोकारवालालाई सामाजिक सद्भाव संरक्षणमा सक्रिय रुपमा भूमिका खेल्न आह्वान गरिएको छ। सामाजिक उत्तेजना फैलाउने, धार्मिक भावनामा चोट पुर्याउने वा कानुन विपरीत कार्यमा संलग्न व्यक्तिहरूलाई मुलुकी अपराध संहिता २०७४ र विद्युतीय कारोबार ऐन २०६३ अनुसार कडा कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।






