मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल र उदीयमान याङतेनलाई सम्मान

मम्स इन्टरनेसनल नेपालले कीर्तिमानी कराते खेलाडी सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामालाई विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। ११औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता सुनिल लामा र उनका छोरा याङतेन लामाको खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गरिएको हो। प्रमुख अतिथि सुरेन्द्र श्रेष्ठले सम्मानपत्र र खादा ओढाएर दुवै खेलाडीलाई सम्मान गर्नुभएको छ भने सुनिल लामाले आभार व्यक्त गर्नुभयो। १३ साउन, काठमाडौं।
मम्स इन्टरनेसनल नेपालले नेपाली कराते खेलको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै कीर्तिमानी कराते खेलाडी सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामालाई बुधबार विशेष कार्यक्रमबीच सम्मान गरेको छ। बङ्गलादेशमा सम्पन्न ११औं दक्षिण एसियाली खेलकुद (साग) तथा १३औं एसिया प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका स्वर्ण पदक विजेता सुनिल लामालाई अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई दिलाएको सफलताको सम्मानस्वरूप अभिनन्दन गरिएको हो।
साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनका छोरा याङतेन लामालाई पनि सोही कार्यक्रममा सम्मान गरिएको थियो। हाल अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका सुनिल लामाले त्यहाँ तथा काठमाडौंको रानीवनमा ‘च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमी’ सञ्चालन गर्दै कराते खेलको प्रवर्द्धन र नयाँ खेलाडी उत्पादनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
कार्यक्रममा मम्स इन्टरनेसनल नेपालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) रन्जिता लामाले नेपाली करातेका अनुभवी र उदीयमान खेलाडीलाई एउटै मञ्चमा सम्मान गर्न पाउनु संस्थाका लागि गौरवको विषय भएको बताइन्। उनले च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीले नेपालबाट अमेरिका पुग्ने खेलकर्मीलाई गर्ने स्वागत र सहयोगको पनि प्रशंसा गरिन्। कार्यक्रमका प्रमुख अतिथि तथा चर्चित सांगीतिक समूह ‘एक्स ब्यान्ड’का ड्रमर सुरेन्द्र श्रेष्ठले सम्मानपत्र र खादा ओढाएर दुवै खेलाडीलाई सम्मान गरेका थिए।
त्यसैगरी, १३औँ सागका दोहोरो स्वर्ण पदक विजेता तथा राष्ट्रिय कराते टोलीका प्रशिक्षक मन्दे काजी श्रेष्ठ र अन्तर्राष्ट्रिय कराते खेलाडी सुमन तिमल्सिनाले पनि खादा ओढाएर बधाई दिएका थिए। सम्मानपछि बोल्दै सुनिल लामाले आफू र आफ्नो छोराको उपलब्धिको कदर गर्दै सम्मान गरेकोमा मम्स इन्टरनेसनल नेपाल परिवारप्रति हार्दिक आभार व्यक्त गरे।






