Skip to main content

महिला कबड्डी टोलीले एसियाडको तयारी भारतमा गर्ने

नेपाली महिला कबड्डी टोली २०औं एसियाली खेलकुदको तयारीका लागि बुधबार भारत प्रस्थान गरेको छ। टोलीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना प्रशिक्षण गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल सञ्चालन गरी प्रशिक्षणलाई निरन्तरता दिनेछ। असोज २ गते टोली भारतबाटै एसियाली खेलकुदमा सहभागी हुन जापान प्रस्थान गर्ने योजना बनाएको छ। एसियाली खेलकुद असोज ३ गतेदेखि सुरु हुनेछ।

महिला टोलीमा मानमती विष्ट (कप्तान), जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, मिना नेपाली, खिममाया खत्री, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, नानुमाया पराजुली, विनिता पण्डित क्षेत्री र आस्मा यादव रहेका छन्। खिममायाको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता २० औं एसियाडमा हुनेछ। टोलीकी अर्की सदस्य अनुजा कुलुङ राई प्राविधिक कारणले (मेडिकल) २०औं एसियाडमा सहभागिता नजनाउने भएकी छन्। उनका स्थानमा कुन खेलाडीलाई राख्ने भन्ने विषयमा चाँडै निर्णय गरिनेछ भन्ने जानकारी अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले दिएका छन्।

महिला कबड्डीमा ८ राष्ट्र सहभागी हुनेछन्। समूह ‘बी’ मा रहेको नेपालले श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेईंसँग प्रतिस्पर्धा गर्नेछ। चाइनिज ताइपेई गत संस्करणको उपविजेता हो। समूह ‘ए’ मा इरान, जापान, बंगलादेश र भारत रहेका छन्। यस एसियाली खेलकुद महिला टोलीको दोस्रो सहभागिता हो। पहिलो पटक महिला टोलीले चीनको हाङझावमा भएको १९ औं एसियादी खेलकुदमा सहभागिता जनाएर ऐतिहासिक कांस्य पदक जितेको थियो। हाङझाव एसियाडमा पदक जितेका मध्ये ६ खेलाडी अहिलेको टोलीमा रहेका छन्।

महिला कबड्डी टोलीले इरानमा सम्पन्न एसियाली कबड्डी प्रतियोगिता र चीनमा सम्पन्न एसियाली बिच खेलकुदमा कांस्य पदक जितेको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, कबड्डी संघकी अध्यक्ष तुलसी थापा, महासचिव झा र राष्ट्रिय टोली तयारीका निर्देशक दीपक विष्टले बुधबार एक कार्यक्रमको माध्यमबाट बिदाइ गरेका थिए। सदस्य–सचिव मेहताले टोलीबाट पदकको ठूलो आशा गरेको बताएका छन्।