Skip to main content

किन कतिपय व्यावसायिक बडिबिल्डरहरू युवामै आकस्मिक रूपमा ज्यान गुमाउँछन्?

यसै महिनाको सुरुमा माइल्सँ अराउजूले आफू जिममा रहेको एउटा तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उनी त्यस्ता तस्बिरहरू प्रायः पोस्ट गर्ने गर्थे। त्यो तस्बिरमा उनले आफ्नो सुगठित शरीर प्रदर्शन गरेका थिए र यसले उनलाई व्यावसायिक बडिबिल्डर र हजारौँ फलोअर भएका फिटनेस इन्फ्लुअन्सरको रूपमा चिनाएको थियो। रातो टिसर्ट लगाएका अराउजूका पाखुराहरू मांसपेशीले भरिएका कुनै सुपरहिरो झैँ देखिन्थे। तर केही घण्टापछि, ब्राजिलको उत्तरपूर्वी भागमा रहेको बायाहरु राज्यस्थित आफ्नै घरमा अचानक उनको स्वास्थ्य बिग्रिएर ३५ वर्षका अराउजूले ज्यान गुमाए। अहिलेसम्म उनको मृत्युको आधिकारिक कारण पुष्टि भइसकेको छैन। उनी पछिल्ला वर्षहरूमा आकस्मिक रूपमा ज्यान गुमाउने केही बडिबिल्डरहरूमध्ये एक हुन्।

गत मे महिनाको अन्तिमतिर ब्राजिलका चर्चित युवा बडिबिल्डर गेब्रियल गान्लेको २२ वर्षको उमेरमा आकस्मिक हृदयाघातका कारण निधन भयो। त्यसअघि, आफूलाई ३० र ४० वर्ष उमेर समुहमा पर्ने दुई ब्राजिलीयन बडिबिल्डर पनि मुटुसम्बन्धी समस्याका कारण मरेका थिए र ती मध्ये एक जना प्रतिस्पर्धाको क्रममा निधन भएका थिए। यस्तै प्रकारका घटनाहरू विश्वका अन्य देशहरूमा पनि भएका छन्। अमेरिकी बडिबिल्डर ड्यालस म्याक्कार्भरको २०१७ मा २६ वर्षको उमेरमा मृत्यु भएको थियो भने जर्मन फिटनेस इन्फ्लुअन्सर तथा बडिबिल्डर जो लिन्डनरको सन् २०२३ मा ३० वर्षको उमेरमा निधन भएको थियो।

सन् २०२५ मा प्रकाशित एक अध्ययनले प्रतिस्पर्धात्मक बडिबिल्डिङका जोखिमहरू स्पष्टतया देखाएको छ। अध्ययनमा सन् २००५ देखि २०२० सम्म खेलको अंतर्राष्ट्रिय नियामक निकायले आयोजना गरेको प्रतियोगितामा सहभागी लगभग २० हजार सौखिन तथा व्यावसायिक बडिबिल्डरहरूको मूल्यांकन गरिएको थियो। ‘युरोपियन हार्ट जर्नल’ मा प्रकाशित उक्त अध्ययनले व्यावसायिक बडिबिल्डरहरूमा आकस्मिक हृदयाघातबाट मृत्यु हुने जोखिम सौखिन खेलाडीहरूको तुलनामा पाँच गुणाभन्दा बढी भएको बताएको छ।