
अमेरिकामा डढेलो, अत्यधिक गर्मी र अन्य कारणले रगतको मौज्दात १५० वर्षयताकै दोस्रो पटक सङ्कट अवस्थामा पुगेको अमेरिकन रेडक्रसले जनाएको छ। अमेरिकन रेडक्रसकी डा. कोर्टनी लरेन्सले पछिल्लो एक महिनामै रगतको मौज्दात २५ प्रतिशतले घटेको र दैनिक ३ हजार ५०० युनिट बढी रगत वितरण भइरहेको खुलाएकी छिन्। क्यानडामा पनि जुन महिनादेखि रगतको मौज्दात २० प्रतिशतले घटेको र दाताको संख्यामा उल्लेख्य कमी हुँदा आकस्मिक उपचार सेवामा समेत असर पर्ने चिन्ता बढेको छ।
अमेरिकामा रगतको अभाव गम्भीर बन्दै गएको छ। अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षको इतिहासमा दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको घोषणा गरेको छ। बीबीसीका अनुसार, अमेरिकन रेडक्रसकी डा. कोर्टनी लरेन्सले जंगलमा लागेको डढेलो, अत्यधिक गर्मी तथा अन्य विभिन्न कारणले रगत संकलनमा असर परेको बताएकी छन्। उनका अनुसार, गत एक महिनामा रगतको मौज्दात करिब २५ प्रतिशतले घटेको छ। यो संकट गर्मीयाममा देखा परेको हो, जुन बेला अस्पतालहरूमा रगतको माग सामान्यभन्दा बढी हुने गर्दछ।
अमेरिकामा आवश्यक पर्ने रगतको करिब ४० प्रतिशत आपूर्ति गर्ने अमेरिकन रेडक्रसले अहिले सामान्य अवस्थाभन्दा दैनिक करिब ३ हजार ५०० युनिट बढी रगत वितरण गरिरहेको जनाएको छ। यसका कारण रगतको मौज्दात अत्यन्त न्यूनतम स्तरमा झरेको संस्थाले जनाएको छ। डा. लरेन्सका अनुसार, रगत लामो समयसम्म भण्डारण गर्न सकिँदैन। दान गरिएको रगतको उपयोग ४२ दिनभित्र गर्नुपर्ने हुन्छ, किनभने समयसँगै रगतका कोशिकाहरूको गुणस्तर घट्दै जान्छ।
हाल सबै रक्तसमूहको रगत आवश्यक भए पनि विशेष गरी ‘ओ पोजिटिभ’ समूहको रगतको अभाव बढी देखिएको छ। आपत्कालीन अवस्थामा बिरामीको रक्तसमूह तत्काल थाहा नभएको अवस्थामा यो समूहको रगत प्रयोग गर्न सकिने भएकाले यसको माग उच्च रहने गरेको छ। रगत अभावले नियमित शल्यक्रिया तथा अन्य उपचार सेवामा समेत असर पर्न सक्ने चिन्ता अस्पतालहरूले व्यक्त गरेका छन्। रेडक्रसका अनुसार अत्यधिक गर्मीका कारण मानिसहरू रगतदान केन्द्रसम्म पुग्न हिचकिचाइरहेका छन्।






