नेपालमा साम्प्रदायिक तनाव: कर्फ्यू थपिएसँगै चिन्ता बढ्दै, सांसद र पूर्वराजाले एकताको अपिल

मधेश प्रदेशका अन्य जिल्लामा फैलिएको साम्प्रदायिक तनाव सुरुमै सुनसरीको देवानगन्जबाट शुरु भएको थियो। त्यहाँ एक जनाको मृत्यु भएपछि केही दिनदेखि तनाव कायमै थियो। सुनसरी जिल्ला प्रहरी प्रवक्ता, डिएसपी चन्द्र खड्काका अनुसार अर्को एक घाइतेको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ। सुनसरीसँगै मधेश प्रदेशका सिराहा र धनुषा जिल्लामा समेत साम्प्रदायिक तनाव देखिएको छ। ती जिल्लाका विभिन्न स्थानीय तह र बजारमा कर्फ्यू आदेश जारी गरिएको छ। सिराहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिएका छन्। यसरी गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।
सिराहा र धनुषामा कर्फ्यू लागू गरिएको छ। बुधबार सप्तरीमा प्रदर्शन भएको थियो। बिहीबार बिहानैदेखि धनुषाको जनकपुरधाममा प्रदर्शन बढ्दै जाने कारण स्थिति तनावपूर्ण भएको छ, वीरगन्जस्थित संवाददाता माधुरी महतोले बताइन्। प्रदर्शनकारीहरूले विभिन्न स्थानमा टायर बाल्नुका साथै मुख्य सडकहरू अवरुद्ध गर्दा बजार, व्यवसाय र सवारी आवागमन प्रभावित भएका छन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। सिराहाका प्रमुख जिल्ला अधिकारीले पनि कर्फ्यू आदेश गरेको जानकारी दिएका छन्। कर्फ्यू क्षेत्रहरूमा कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउमा प्रतिबन्ध लगाइएको छ।
स्थानीय प्रशासनले सर्वसाधारणलाई “आवश्यक सेवावाहेक घर बाहिर ननिस्कन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न” आग्रह गरेको छ। बारा, पर्सा लगायत अन्य जिल्लामा पनि सुरक्षा सतर्कता बढाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार साउन १४ गते बिहीबार साँझ ५ बजेदेखि साउन १५ गते शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ।
तनाव बढ्दै जाँदा विभिन्न राजनीतिक पार्टी तथा सामाजिक क्षेत्रका व्यक्तिहरू र संघ संस्थाहरूले संयम अपनाउन अनुरोध गरिरहेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको खबर सुनेर चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार, “नेपाल, जहाँ सम्पूर्ण समुदायले सह-अस्तित्व गर्दै आएको छ, त्यस्तो देशमा यस्ता अवाञ्छित घटना हुनु चिन्ताको विषय हो। त्यसैले जुनसुकै भूभागमा बसोबास गर्ने हामी सबै नेपाली मिलेर अघि बढौं, यो हाम्रो प्रयोजन तथा आजको आवश्यकता हो।”
संसदमा विपक्षी दलहरूले घटनाप्रति गम्भीर चिन्ता प्रकट गर्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूले प्रधानमन्त्री र गृहमन्त्री मौन रहेको भन्दै संसदमा जवाफ दिनुपर्ने माग गरेका छन्। कांग्रेस प्रमुख सचेतक वासना थापाले भनिन्, “नागरिकको ज्यान जानेगरी गोली चलाउनु कस्तो अवस्था हो? सरकारले यसका लागि संसदमा जवाफ दिनुपर्छ र सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ।” नेकपाका गोपाल शर्माले सरकारले र प्रधानमन्त्रीले उक्त घटनामा देखाएको भूमिकामा प्रश्न उठाएका छन्। उनले भने, “प्रधानमन्त्रीले संसदमा आएर देशलाई जानकारी दिनुपथ्र्यो, तर विडम्बना, हाम्रो प्रधानमन्त्री कहाँ छन्, के गर्दैछन्, न संसदलाई थाहा छ न अरुलाई।”






