Skip to main content

तराईका हिंसात्मक घटनामा बालबालिका संरक्षण सुनिश्चित गर्न सिजपको माग

१५ साउन, काठमाडौं । तराईका विभिन्न जिल्लामा भएका हिंसात्मक घटनापछि बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बालअधिकार सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। बालबालिकाको सुरक्षा र संरक्षणप्रति चिन्ता व्यक्त गर्दै सरकारले, राजनीतिक दलहरुले र सरोकारवालाहरुलाई आग्रह गरिएको छ। सिजपले बिहीबार विज्ञप्ति जारी गर्दै सिराहामा भएको झडपका क्रममा एक किशोरको गोली लागेर मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेको छ। हिंसात्मक घटनामा बालबालिका अग्रपंक्तिमा देखिनु चिन्ताजनक विषय भएको विज्ञप्तिमा उल्लेख छ। कर्फ्यू तथा निषेधाज्ञाको समयमा बालबालिकालाई घरभित्रै सुरक्षित राख्न र विशेष सतर्कता अपनाउन अभिभावकलाई आग्रह गरिएको छ।

बालबालिकालाई हिंसा, द्वन्द्व तथा राजनीतिक गतिविधिबाट टाढा राख्न तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग पनि गरिएको छ। यस्तै, हिंसाबाट प्रभावित बालबालिका र उनीहरूका परिवारलाई मनोसामाजिक परामर्श, आवश्यक संरक्षण तथा अन्य सहयोग उपलब्ध गराउन अभियानले आग्रह गरेको छ। अभियानका अध्यक्ष तिलोत्तम पौडेलले विद्यालय, सार्वजनिक स्थान र समुदायलाई बालबालिकाका लागि सुरक्षित तथा शान्तिक्षेत्रका रूपमा कायम राख्नु सबै पक्षको साझा जिम्मेवारी भएको बताएका छन्। उनले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी संयम, संवाद र शान्तिपूर्ण उपाय अवलम्बन गर्न सबै पक्षसँग आह्वान गरेका छन्।