
समाचार सारांश सरकारले पूर्ण सिलिन्डर वितरण गर्न थालेपछि माग बढेकाले काठमाडौंलगायतका केही स्थानमा खाना पकाउने ग्यासको अभाव देखिएको छ। व्यवसायीहरूका अनुसार उपभोक्ताले त्रासका कारण आवश्यकताभन्दा बढी सिलिन्डर होल्ड गर्दा र आपूर्ति प्रणालीको रोटेसन बिग्रिएकाले बजारमा समस्या सिर्जना भएको हो। नेपाल आयल निगमले ग्यासको अभाव नभएको दाबी गर्दै आपूर्ति बढाइएको र अत्यावश्यक वर्गलाई प्राथमिकता दिन विक्रेतालाई निर्देशन दिएको जनाएको छ। १५ साउन, काठमाडौं। सरकारले खाना पकाउने एलपी ग्यास भरी सिलिन्डर बजार पठाउन थालेको दुई साता नबित्दै काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा उपभोक्ताले ग्यास अभावको सामना गर्नुपरेको छ। ग्यास नपाएपछि सर्वसाधारणहरू डिलर र सप्लायरकोमै पुगेर खाली सिलिन्डर लाइनमा राख्न बाध्य भएका छन्। एउटा ग्यास साट्न मात्रै पनि हप्तौंसम्म कुर्नुपरेको गुनासो उपभोक्ताबाट व्यापक आउन थालेको छ। यसअघि पनि बजारमा ग्यास अभाव चर्किएपछि नेपाल आयल निगमले २०८२ फागुन अन्तिमतिरबाट आधा मात्र भरिएको (७.१ किलो) सिलिन्डर बेच्ने व्यवस्था मिलाएको थियो। तर, अहिले फेरि पूरै भरिएको सिलिन्डर बाँड्न थालेपछि एक्कासि ग्यासको माग बढेर अभाव सिर्जना भएको डिलर सञ्चालकहरूको भनाइ छ। एकातिर ग्यास डिपोहरूमा उपभोक्ताको थामिनसक्नु भिड छ भने अर्कातिर आयल निगमले बजारमा ग्यासको कुनै अभाव नरहेको दाबी बारम्बार गर्दै आइरहेको छ। निगमले दाबी गरे पनि ग्यास पसलमा सर्वसाधारणको लाइन भने घटेको छैन। बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास डिपो, अन्य डिलर र विक्रेताहरूको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइनले पनि ग्यास नपाइएको स्पष्ट पार्छ। आखिर ग्यास गयो कहाँ? ग्यास विक्रेता महासंघ नेपालका कोषाध्यक्ष रविन कार्की बजारमा दिखिएको ग्यास अभाव आपूर्ति कम भएर नभई उपभोक्तामा देखिएको त्रास र खाली सिलिन्डर एकै पटक भर्न खोज्ने प्रवृत्तिका कारण भएको बताउँछन्। कार्कीका अनुसार नेपालमा ग्यासको नियमित आपूर्ति भइरहेको छ र दैनिक ग्यास आइरहेको छ। तर, केही महिनादेखि बजारमा थन्किएका हजारौं खाली सिलिन्डर एकै पटक रिफिल गर्न खोज्दा र उपभोक्ताले चाहिनेभन्दा बढी ग्यास भण्डारण (होल्ड) गर्दा बजारमा हाहाकार मच्चिएको उनको दाबी छ। ‘चार महिना अवधिमा नियमित खपत हुनेभन्दा कम ग्यास उठ्यो, उद्योगले घाटा बेहोर्नुपर्छ भनेर ग्यास किनेनन् र बजारमा करिब ४८ देखि ५० हजार टन खाली सिलिन्डर थुप्रिए,’ कोषाध्यक्ष कार्कीले भने, ‘अहिले एक्कासि बजारमा १४.२ किलो आउने भएपछि सबैलाई एकैचोटि ग्यास चाहियो, ती सबै खाली सिलिन्डर एकै पटक बजारमा निस्किँदा क्राइसिस भएको हो, अहिले आइरहेको ग्यासले यो प्यानिक मार्केटलाई एकै पटक धान्न सक्दैन।’ यसका साथै, बजारमा ल्याइएको ‘हाफ ग्यास’ का कारण पनि समस्या थपिएको उनले बताए। ‘हाफ ग्यास १५ दिनमै सकिन्छ, त्यसपछि छिटोछिटो रिफिलिङ गर्नुपर्ने अवस्था आयो, जसले ग्यासको रोटेसन बिगार्यो र बजारमा खाली सिलिन्डर छिटो आउन थाल्यो,’ उनले थपे। अहिले ग्यास नपाएर सबैभन्दा बढी मारमा विद्यार्थी र एउटामात्र सिलिन्डर हुने साना परिवार परेका छन्। ‘जसको घरमा ५–७ वटा खाली सिलिन्डर थिए, उनीहरू अहिले ती सबै भर्न लागिपरेका छन्,’ कार्कीले भने, ‘क्षमता हुनेले स्टक राख्दा यसको प्रत्यक्ष मारमा एउटामात्र सिलिन्डर हुने, स्टक राख्न नसक्ने विद्यार्थी र साना परिवार परेका हुन्।’ उनका अनुसार डिलरमा नियमित अवस्थामा भन्दा अहिले माग अत्यधिक छ। अहिले दैनिक १ हजार ५ सयदेखि १ हजार ८ सयसम्म ग्यास माग आइरहेको छ। तर, जम्मा ३ सयदेखि ४ सय ग्यासमात्र बेचेको उनका भनाइ छ। ‘मैले यो माग एकैचोटि पूरा गर्न सक्ने अवस्था नै छैन, उपभोक्ताहरू ग्यास नपाएपछि दोहोर्याएर डिलरमा आउने गरेका छन्,’ उनले भने, ‘जसलाई रोक्न डिलरहरूलाई समेत गाह्रो भइरहेको छ।’ यस्तो संकट आउन सक्छ भनेर महासंघले आयल निगम र सरकारलाई तीन महिना अगाडि नै सचेत गराएको कार्कीले बताए। ‘हामीले तीन महिना अगाडि नै यो अवस्था आउँछ भनेर राज्यलाई भनेका थियौं, कम्तीमा एउटा घरमा दुइटाभन्दा बढी सिलिन्डर राख्न नदिने वा एउटा स्टक राखेर अर्कोमात्र भर्न पाउने नियम ल्याउनुपर्थ्यो, त्यो भएन,’ उनले भने। उद्योगीको दाबी: सरकारको नीतिगत ढिलाइ नै प्रमुख कारक नेपाल एलपी ग्यास उद्योग संघ अध्यक्ष दिवान चन्दले अहिले बजारमा देखिएको ग्यास अभाव समस्यामा सरकारको नीतिगत ढिलाइ नै प्रमुख कारक भएको बताउँछन्। देशभरि देखिएको अभाव आपूर्ति कम भएर नभई सरकारले भरी सिलिन्डर वितरण गर्ने निर्णय समयमै नगर्दाको नतिजा भएको चन्दको दाबी छ। सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्मका जिल्लामा ग्यासको चरम अभाव देखिएको स्वीकार गर्दै अध्यक्ष चन्दले यो कृत्रिम अभाव र उपभोक्ताको होडबाजीका कारण सिर्जना भएको आरोप लगाए। सरकारले आधा ग्यास वितरण गरिरहेको समयमा आफूहरूले १४.२ किलोको निर्णय छिटो गर्नुपर्ने भन्दै संसदीय समितिमा समेत चेतावनी दिएको उनले बताए। ‘हाम्रो पे्रडिक्सन नै के थियो भने जति ढिला १४.२ किलो गरियो, त्यति बजार व्यवस्थापन गर्न गाह्रो हुन्छ, मैले संसदीय समितिमा मन्त्री, सचिव र सांसदहरूकै अगाडि भनेको थिएँ– १४.२ किलो त गर्नुभयो, तर अब यो नर्मल हुन दुई महिना लाग्छ,’ चन्दले भने। नेपाली बजारमा डेढ करोड थान सिलिन्डर रहेको र भरी सिलिन्डर आउने हल्ला चलेपछि उपभोक्ताले खाली सिलिन्डर थुपारेर राखेको उनको दाबी छ। ‘खाली भएका सिलिन्डर भर्नका लागि मात्रै यो होडबाजी चलेको हो, अरू केही होइन,’ उनले भने। अध्यक्ष चन्दका अनुसार बजारमा ग्यास आपूर्ति ५ देखि ७ प्रतिशत बढेको छ। ‘सामान्य अवस्थामा ४५/४६ हजार टन ग्यास खपत हुने गरेकोमा अहिले ४८ देखि ४९ हजार टन पुगेको छ,’ उनले भने, ‘अहिले दैनिक १ लाख २० हजार सिलिन्डर बजारमा बेचिरहेका छौं।’ चाहिने एउटा, डिमान्ड तीन वटाको: नेपाल ग्यास बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको नेपाल ग्यास सञ्चालक गोकुल भण्डारी पनि ग्यास आयातमा कुनै कमी नआएको दाबी गर्छन्। उपभोक्ता आत्तिएर चाहिनेभन्दा बढी माग गर्दा बजारमा अभावजस्तो मात्र देखिएको उनको भनाइ छ। ‘हाम्रो नेपाल ग्यासको लगभग २४ सय टनको कोटा हो, त्यो ग्यास यो महिना आएकै छ,’ सञ्चालक भण्डारीले भने, ‘तर, हाफबाट एकैचोटि फुलमा गएकाले गर्दाखेरि १०–२० प्रतिशतको डिमान्ड एकैचोटि बढेर आएको छ।’ आफ्नो उद्योगको मात्र नभई समग्र ग्यास उद्योगकै आयातमा कुनै कमी नभएको बताउँदै उनले उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन्। ‘धेरै नआत्तिकन जसलाई एकदमै आवश्यक पर्ने हो, उहाँहरूले मात्र लिने हो भने ग्यासको प्रब्लम नै छैन,’ भण्डारीले भने, ‘तर, एउटा चाहिनेलाई तीन वटा माग दिने भयो भने चाहिँ गाह्रो हुन्छ।’ भोलि ग्यास नपाइने हो कि भन्ने त्रासमा आजै ग्यास थुपार्ने प्रवृत्तिले समस्या सिर्जना गरेको भन्दै उनले अत्यावश्यक नभएकालाई केही दिन पर्खिन सुझाव दिएका छन्। निगमको प्रष्टीकरण: अभाव देशव्यापी छैन, आपूर्ति बढाएका छौं चौतर्फी गुनासो र लाइन बढ्न थालेपछि नियामक निकाय आयल निगमले बजार सन्तुलित बनाउन खोजेको बताएको छ। निगमका एलपीजी तथा एभिएसन विभाग निर्देशक विनितमणि उपाध्यायले ग्यास अभाव देशव्यापी नरहेको दाबी गरे। ‘ग्यास अभाव देशभरि नै होइन, दाङ, सुर्खेत र काठमाडौंका सीमित ठाउँमा मात्र त्यस्तो चाप देखिएको छ,’ निर्देशक उपाध्यायले भने, ‘७.१ किलोबाट १४.२ मा गइसकेपछि सिलिन्डर जुन ग्याप भयो, ती सिलिन्डर एकैचोटि बजारमा आउन थाले, त्यसले गर्दा १० देखि २० प्रतिशतसम्म डिमान्ड एक्कासि बढेर आएको हो।’ बजारमा देखिएको चाप सम्बोधन गर्न निगमले ग्यास आपूर्ति बढाएको उनले बताए। ‘हामीले दैनिक १ सय बुलेटभन्दा पनि बढी मगाएका छौं,’ उनले भने, ‘यो बीचमा १ सय ४० देखि १ सय ४५ बुलेटसम्म पनि ग्यास आएको छ र आपूर्ति नियमित प्रक्रियामा छ।’ उद्योगीलाई पनि परिमाण थप्न निर्देशन दिइएको र उनीहरू सकारात्मक रहेको उपाध्यायको भनाइ छ। ग्यासको चाप बढेपछि निगमले बुधबार मात्रै उपत्यका ग्यास विक्रेता संघका प्रतिनिधिसँग छलफल गरी अत्यावश्यक वर्गलाई प्राथमिकता दिन आग्रह गरेको बताएको छ। ‘विक्रेता साथीहरूलाई हामीले घरायसी प्रयोजनमा प्रयोग गर्ने, वृद्धवृद्धा, स्कुल/कलेजका विद्यार्थी, सुत्केरी महिला र बिरामी प्राथमिकतामा राखेर बिक्री वितरण गरिदिनुहोला भनेर पठाएका छौं,’ उपाध्यायले भने। बजारमा ग्यास कालोबजारी भइरहेको भन्ने हल्लालाई भने निगमले अस्वीकार गरेको छ। जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग र निगमका कर्मचारी सहित टोलीले बजार अनुगमन गरिरहेको र हालसम्म कालोबजारीको प्रमाण नभेटिएको उपाध्यायको दाबी छ। ‘कालोबजारी नै भयो भन्ने कुरा आजसम्मको जानकारीमा छैन,’ उनले भने, ‘अनुगमन टोलीले कालोबजारी भएको पाएको छैन, तर चाप चाहिँ छ भन्ने कुरा आइरहेको छ।’ सरकारले ग्यास वितरण नीति परिवर्तन गर्दा बजारमा पर्ने प्रभावको पूर्वआकलन गर्न नसक्नु, व्यवसायीले सन्तुलित वितरण प्रणाली लागु गर्न नसक्नु र उपभोक्ताले त्रासका कारण आवश्यकता भन्दा बढी सिलिन्डर होल्ड गर्नु नै अहिलेको समस्याको मुख्य जड हो।






