जानी इन्फन्टिनो: ‘फुटबल खेल बेच्न लागेको’ आरोपले फिफा अध्यक्षको पदमा जोखिम

राजनीतिमा एक साता भनेको लामो समय हो। फुटबलको राजनीतिमा। मङ्गलवार बिहानसम्म जानी इन्फन्टिनोको फिफा अध्यक्षको शक्तिशाली पद अभेद्य जस्तो थियो। तर उनले फिफाका प्रतियोगिताहरूको स्वामित्व आंशिक रूपमा निजी लगानी संस्थाहरूलाई बेच्ने प्रस्ताव राख्ने प्रयास गरेलगत्तै उनको पद अहिले जोखिममा परेको छ। उनले अरू कसैलाई पनि जानकारी नदिइकन त्यस्तो प्रस्ताव अघि सारेको जस्तो देखिन्छ। चर्को आलोचनापश्चात् उनले उक्त प्रस्ताव अब अघि नबढाउने त भने तर उनीविरुद्धको विरोध रोकिएन।
युरोपको फुटबल प्रशासक निकाय – युनिअन अफ युरोपियन फुटबल असोसिएशन्स (युईएफए वा युएफा) – ले इन्फन्टिनोको कटु आलोचना गर्दै नै आएको थियो। बिहीवार उसले इन्फन्टिनोको पछिल्लो प्रस्तावका विरुद्ध ठूलै झट्का दियो – विश्वकपसहित सम्पूर्ण फिफा प्रतियोगिताको बहिष्कार गर्ने धम्की दिएर। अब उक्त युरोपेली फुटबल प्रशासक निकायले इन्फन्टिनोलाई यही मौकामा हटाउन सकिन्छ कि भन्ने ठानेको छ – सायद यो उसको लागि (इन्फन्टिनो हटाउने) अन्तिम मौका नै हुन सक्छ।
अचानक इन्फन्टिनोसँग चिढिएको ऊ मात्रै चाहिँ होइन। उत्तर र मध्य अमेरिका अनि क्यारेबिअन क्षेत्रको फुटबल महासङ्घ कन्काकाफले पछिल्लो योजनाको पृष्ठभूमिमा फिफाको नेतृत्वबारे “समग्र समीक्षा” गरिनु पर्ने भनेको छ। यही संस्थासँग निकटमा रहेर इन्फन्टिनोले हालै २०२६ विश्वकप सम्पन्न गराएका थिए। इन्फन्टिनोको लागि थप क्षति त के हो भने उनीप्रति निकै बफादार देशहरू रहेको एशियाली फुटबल महासङ्घ (एएफसी)ले पनि उनलाई साथ दिएन। अनि उनका दुई जना अति निकट अधिकारीहरू – वरिष्ठ सल्लाहकार कार्लोस कोर्देरो तथा प्रमुख प्रशासकीय अधिकृत केभिन लामोर – ले पनि उनको साथ छाडे।






