Skip to main content

नेपाली खेलकुद इतिहास प्रतिनिधित्व गर्ने तीनदिने प्रदर्शनी आयोजना हुँदै

नेपाल ओलम्पिक संग्रहालयले साउन १९ देखि २१ गतेसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा देशकै पहिलो खेलकुदसम्बन्धी प्रदर्शनी आयोजना गर्दैछ। “बियोन्ड मेडल्स” शीर्षकको उक्त प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गर्नेछन्। प्रदर्शनीमा ऐतिहासिक खेलकुद सामग्री, दुर्लभ तस्बिर, पदक तथा ट्रफीहरू प्रदर्शन गरिने छन् जसले नेपालको खेलकुद इतिहासलाई भावी पुस्तासम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

नेपाल ओलम्पिक संग्रहालयले नेपालको खेलकुद इतिहास संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित देशकै पहिलो खेलकुद सम्बन्धी प्रदर्शनी आयोजना गर्न लागेको हो। संस्थाको ३३औं वार्षिकोत्सवको अवसरमा “बियोन्ड मेडल्स : प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री” शीर्षकको प्रदर्शनी साउन १९ देखि २१ गते (अगस्ट ४–६, २०२६) सम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सञ्चालन हुनेछ।

प्रदर्शनीमा करिब पाँच लाख दुर्लभ तथा ऐतिहासिक खेलकुद तस्बिरमध्ये छनोट गरिएका तस्वीरहरू प्रदर्शन गरिनेछन्। साथै पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक खेलकुद स्मृतिचिन्हहरू पनि प्रदर्शनीमा राखिने आयोजकले जनाएका छन्। प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, खेल प्रशासक र खेलप्रेमीहरूको सहभागिता रहनेछ।

नेपाल ओलम्पिक संग्रहालयले दिवंगत संस्थापक वरिष्ठ खेलकुद पत्रकार क्षितिज अरुण श्रेष्ठ र दक्षिण एसियाली खेलकुद तेक्वान्दो पदक विजेता मञ्जु तुलाधरको योगदानप्रति सम्मान प्रकट गर्दै प्रदर्शनीमार्फत नेपालको खेलकुद इतिहास भावी पुस्तासम्म पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।