
कप्तान किरण चेम्जोङले नेपालको फिफा निलम्बन चाँडै हट्ने विश्वास व्यक्त गर्दै नेपाली टोली पुनः राष्ट्रिय प्रतिनिधित्व गर्न मैदानमा फर्कन तयार रहेको बताएका छन्। फिफाको निलम्बनका कारण साफ च्याम्पियनसिप खेल तालिकामा नेपालको नाम नरहेकोमा उनले दुःख व्यक्त गरेका छन्। नेपालको निलम्बन सेप्टेम्बर १ गतेसम्म फुकुवा हुँदा मात्र प्रतियोगितामा खेल्न सकिनेछ।
१७ साउन, काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आगामी साफ च्याम्पियनसिपमा नेपालको नाम नदेख्दा आफू निकै खिन्न भएको बताएका छन्। बंगलादेशको ढाकामा नोभेम्बर ४ देखि साफ च्याम्पियनसिप सुरु हुँदैछ, तर फिफा निलम्बनमा रहेको नेपालले शनिबार सम्पन्न साफ च्याम्पियनसिपको ड्रमा सहभागी हुन सकेको छैन।
कप्तान चेम्जोङले इन्स्टाग्राममार्फत नेपालको नाम नपरेको विषयमा गहिरो दुःख जनाउँदै भनेका छन्, ‘एक गर्विलो नेपाली फुटबल खेलाडीको रूपमा साफ च्याम्पियनसिप खेल तालिकामा नेपालको नाम नदेख्दा साँच्चै मन खिन्न भयो। हामीले सधैं गर्व, जोश र आशाका साथ हाम्रो देशको प्रतिनिधित्व गर्दै संघर्ष गरिरहेका छौं।’
उनले नेपालको निलम्बन चाँडै हट्ने आशा व्यक्त गर्नुभएको छ र नेपाली टोली पुनः राष्ट्रिय रूपमा मैदानमा फर्कने बताए। ‘हामी आशा गर्छौं यो प्रतिबन्ध चाँडै हट्नेछ र नेपाल पुनः मैदानमा फर्कनेछ। हामी हाम्रो राष्ट्रको नाम उच्च राख्दै आफ्ना जनतालाई गर्व गर्ने बनाउनेछौं,’ उनले थपे। राष्ट्रिय टोलीका विंगर मनिष डाँगीले पनि फुटबलमाथिको प्रतिबन्ध चाँडै हट्नुपर्ने बताउनुभएको छ।






