
आईटीएफ डेभलपमेन्ट च्याम्पियनसिपका लागि नेपाली टेनिस टोली श्रीलंका प्रस्थान
नेपाली टेनिस टोली आईटीएफ डेभलपमेन्ट च्याम्पियनसिप (फाइनल) मा भाग लिन १२ चैत, काठमाडौँबाट श्रीलंकाको कोलम्बो प्रस्थान गरिसकेको छ। यो प्रतियोगिता मार्च २९ देखि अप्रिल १० सम्म सञ्चालन हुनेछ र नेपालले सर्किट १ र सर्किट २ मा सहभागिता जनाउनेछ। ब्वाइजतर्फ विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेलले नेपालको प्रतिनिधित्व गर्नेछन् भने महिलातर्फ सारा पन्त र एरा खत्रीले चुनौती प्रस्तुत गर्नेछन्। टोलीको प्रशिक्षक सन्तोष खत्री रहेका छन्, जो श्रीलंकामा छन्। प्रतियोगितामा एसियाका १५ राष्ट्र सहभागी हुने जनाइएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार आयोजित कार्यक्रममा टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका थिए।