Skip to main content

इरानसँग वार्ता गर्ने ट्रम्पको घोषणाले कच्चा तेलको मूल्यमा गिरावट

१८ साउन। एक साताअघि इरानमाथि सैन्य आक्रमणको धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक वार्ताका लागि सहमति जनाएका छन्। इरानसँग वार्ता गर्ने र सम्झौताको प्रारूप तयार भएको घोषणा गरिएको छ। ट्रम्पको यस घोषणापछि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। उनको घोषणा अनुसार स्ट्रेट अफ हर्मुजमार्फत आपूर्ति सहज हुने आशाले तेलको मूल्य सोमबार घटेको हो।

सोमबार सवा १२ बजेसम्म कच्चा तेलको मूल्य ५ देखि ६ प्रतिशतसम्म घटेको छ। डब्लूटीआई क्रूड आयल ६.३७ प्रतिशतले घटेर प्रति ब्यारेल ७९.२८ अमेरिकी डलरमा झरेको छ। त्यस्तै, ब्रेन्ट क्रूड आयल ५.५४ प्रतिशतले र मर्बान क्रूड आयल ६.५७ प्रतिशतले क्रमशः घटेर ८३.०७ र ७९.८७ डलर प्रति ब्यारेलमा पुगेका छन्। अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यमा आएको यो परिवर्तनले नेपालसहित विश्वभर प्रशोधित तेलको मूल्यमा प्रभाव पार्नेछ।

यद्यपि, नेपालमा भने गएरातिदेखि पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ। पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा ५ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले मूल्य वृद्धि गरिएको छ। यसैसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य २०० रुपैयाँ कायम भएको छ भने सुर्खेत र दाङमा १९९ रुपैयाँ रहेको छ। त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा यो मूल्य १९७ रुपैयाँ ५० पैसा पुगेको छ।