सुस्ता: नेपाली भूमिमा स्थानीय बासिन्दाले बनाएको ‘कच्ची तटबन्ध’ भत्काउँदा भारतको आपत्ति

पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको कटान रोक्न नेपाली भूमिमा स्थानीय बासिन्दाहरूले बनाएको “कच्ची तटबन्ध” भारतीय पक्षले भत्काएको घटनासँगै उत्पन्न तनाव साम्य भएको स्थानीय प्रशासनले दाबी गरेको छ। तर उक्त संरचना भत्काइएपछि नारायणी नदीमा जलप्रवाह बढ्ने र बस्ती डुबानमा पर्ने डर उत्पन्न भएको स्थानीयवासीहरूले बताएका छन्। नदीले कटान गर्न सक्ने सम्भावित स्थानमा माटो र बालुवा थुपारेर केही अग्लो बनाउन खोजेपछि भारतीय पक्षले अवरोध गर्दा आइतवार केही समय दुवै पक्षबीच तनावपूर्ण अवस्था सिर्जना भएको विवरण सार्वजनिक भएको थियो। भारतले आपसी सहमतिबिना सीमा क्षेत्रमा कुनै प्रकारको स्थायी निर्माणको कार्य अघि नबढाउन भन्दै अवरोध गर्दै आएको छ। सुस्ताका स्थानीय बासिन्दाहरूले नयाँ तटबन्ध बनाएको नभई नदी कटान रोक्न पहिले बनेको संरचनालाई अस्थायी किसिमले मर्मत गर्ने प्रयास मात्र गरेको बताएका छन्।
स्थानीयवासी मुन्ना खाँले बीबीसीसँग भने, “जहाँ पहिले तटबन्ध बनिराखेको थियो, नारायणी नदीको पानी नछिरोस् भनेर त्यहीँनेर अग्लो ढिस्कोजस्तो बनाएका थियौँ। आइतवार भारतीय पक्षले त्यो भत्काइदिएसँगै बस्तीमा पानी पस्ने जोखिम बढेको छ।” जोखिम टार्ने विषयमा दुई पक्षका अधिकारीहरूबीच थप छलफल हुने ठानिए पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सोमवार छलफलका लागि समय दिन नसक्ने खबर पठाएको स्थानीयले बताएका छन्। नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सोमवारका लागि कुनै छलफल तय नभएको बताए। उनले भने, “हिजो दुवै पक्षबीच समझदारीमा केही समस्या देखिएको थियो। नेपालका सुरक्षा निकायहरूको पहलमा अवस्था साम्य भइसकेको छ।”
नारायणी नदीले आफ्नो धार परिवर्तन गरेयता सुस्ता क्षेत्रमा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार सन् १८१६ मा सुगौली सन्धि हुँदा नारायणी नदी उत्तरबाट दक्षिणतर्फ बग्ने गर्थ्यो। त्यसपछि समय समयमा नदीको धार परिवर्तन हुँदा नदीको पूर्वतर्फ रहेका केही भूभाग छुट्टिन पुगे र हाल करिब १४५ वर्ग किलोमिटर क्षेत्र भारतले ओगटेको छ। नेपालले ‘फिक्स बाउन्ड्री’ अर्थात् स्थायी सीमा सहमतिलाई आधार मान्दै नदीले धार परिवर्तन गरे पनि पूर्वतर्फ परेको भूभाग नेपालकै रहेको बताउँदै आएको छ। तर भारतले नारायणी नदीलाई नै सीमाको आधार मान्दै नदीको धार परिवर्तनपछि पूर्वतर्फ परेको भूभाग आफ्नो क्षेत्रभित्र पर्ने दाबी गर्दै आएको छ।






