
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी क्रिकेटर बोडुगुम अखिलेश रेड्डीमाथि भ्रष्टाचार अभियोगमा आठ वर्षको प्रतिबन्ध लगाएको छ। रेड्डीलाई अबुधाबी टी–१० लिग २०२५ मा खेल मिलेमतो र अनुसन्धानमा अवरोध पुर्याएको कसुरमा दोषी ठहर गरिएको छ। यो प्रतिबन्ध सन् २०२५ नोभेम्बर २१ देखि लागु हुने गरी गणना गरिएको छ र उनले सबै प्रकारका क्रिकेट गतिविधिमा सहभागी हुन पाउने छैनन्। १८ साउन, काठमाडौं।
अमेरिकी क्रिकेटर बोडुगुम अखिलेश रेड्डीमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आठ वर्षको प्रतिबन्ध लगाएको छ। आईसीसीको एन्टी करप्सन कोड (एसीयू) न्यायाधिकरणले रेड्डीलाई एसीयू सम्बन्धी आचारसंहिताका तीनवटा कसुरमा दोषी ठहर गरेपछि उनीमाथि सबै प्रकारका क्रिकेट गतिविधिमा प्रतिबन्ध लगाइएको हो। यो प्रतिबन्ध सन् २०२५ नोभेम्बर २१ देखि लागु हुने गरी गणना गरिएको छ। त्यही दिनदेखि उनी अस्थायी रूपमा निलम्बनमा परेका थिए।
रेड्डीमाथिका आरोपहरू संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न अबुधाबी टी–१० लिग २०२५ सँग सम्बन्धित छन्। उक्त प्रतियोगिताका लागि इमिरेट्स क्रिकेट बोर्डले आईसीसीलाई भ्रष्टाचारविरुद्धको आधिकारिक निकाय (डाको) का रूपमा नियुक्त गरेको थियो। न्यायाधिकरणले रेड्डीलाई खेलको नतिजा वा अन्य पक्षमा अनुचित प्रभाव पार्ने प्रयास गरेको, अर्को सहभागीलाई खेल मिलेमतो गर्न उक्साएको तथा अनुसन्धानका क्रममा मोबाइलबाट सम्बन्धित डाटा र सन्देश मेटाएर अनुसन्धानमा अवरोध पुर्याएको आरोपमा दोषी ठहर गरेको हो।






